विराटनगर । दलित अभियन्ता भन्दै अराजक गतिबिधिमा संलग्न खगेन्द्र सुनार फरार अभियुक्त भएको पाइएको छ ।

‘दलितका लागि दलित अभियान नेपाल’ का संयोजक समेत रहेका सुनारमाथि सर्वोच्च अदालत जलाउने अभिव्यक्ति दिएको आरोप छ । उनीविरुद्ध विभिन्न धाकधम्की र गालीगलौज गरेको तथा ठगीमा संलग्न भएको आरोपमा दर्जनौँ उजुरी परेको पनि देखिएको छ ।

सुनार दुईवटा मुद्दाका फरार अभियुक्त रहेको केन्द्रीय प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) ले देखाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको चारित्रिक प्रमाणपत्र जारी गर्ने चालचलन शाखा स्रोतका अनुसार दुईवटा अभियोगमा कैद भुक्तान गर्न बाँकी अर्थात् फरार अभियुक्तका रुपमा सुनारको नाम देखिएको हो ।

सुनारविरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको तर मुद्दा फर्स्यौट नभएको प्रहरी रेकर्डमा छ । यस्तै जिल्ला अदालत सुर्खेतले २०८१ असार २१ मा जारी गरेको पक्राउ पुर्जीका आधारमा पनि उनी पक्राउ पर्न बाँकी र सजाय भुक्तान गर्न बाँकी देखिने प्रहरी स्रोतले जनाएको छ । अदालतले सुर्खेत प्रहरीलाई किन पक्राउ पुर्जीबारे २०८१ मंसिर २१ गते पनि ताकेता गरेको थियो ।

सुनारविरुद्ध अधिवक्ता मनिषा गौतमले २० वैशाख २०८२ मा सर्वोच्च अदालतमा अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरेकी थिइन् । रुकुम पश्चिमको सोती घटनाबारे सुर्खेत उच्च अदालतले फैसला सुनाएपछि सुनारको नेतृत्वमा अदालतको गेटमा तोडफोड गर्नुका साथै नारा–जुलुस गरिएको थियो ।

सुनारले उच्च अदालत सुर्खेतका न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीविरुद्ध गालीगलौज गरेका थिए । उनले सामाजिक सञ्जालमा न्यायाधीशहरूको तस्वीरसमेत राखेर अपमानजनक शब्द प्रयोग गरेका थिए ।

सोही विषयमा अदालतमा अवहेलनाको मुद्दा दायर गरेकी अधिवक्ता गौतमलाई सुनारले चरित्रहत्या गर्ने उद्देश्यले पटक–पटक सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको देखिएको छ । त्यसपिरुद्ध उनले पुनः साइबर बुलिङसम्बन्धी मुद्दा दायर गरेकी छिन् ।

सर्वोच्च अदालतले सुनारको टिप्पणीलाई अदालतको अवहेलना भनेको भन्दै गौतले यस्तो व्यक्तिलाई मन्त्री बनाउन लागेको सुनेर अचम्मित भएको बताएकी छन् । सुनारविरुद्ध देशका विभिन्न जिल्लामा २३ वटा मुद्दा चलिरहेको र अदालतले पक्राउ पुर्जी जारी गरेको पाइएको छ ।

सुनार कांग्रेस पृष्ठभूमिका व्यक्ति हुन् । उनी काभ्रेका कांग्रेस नेता गणेश लामा निकट रहँदै लामो समयसम्म राजनीतिमा सक्रिय थिए । केहि समय पत्रकारिता गरेका उनी सगरमाथा टेलिभिजनमा कार्यरत रहँदा ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परी केही महिना जेल बसेका थिए ।

सर्वोच्च अदालतका न्यायाशीशलाई गाली गर्दै सर्वोच्च अदालतमा आगो लगाउनुपर्ने अभिव्यक्ति दिँदा पनि उनी पक्राउ परेका थिए । सुनारमाथि १३ असार २०८१ मा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको मुद्दमा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सुर्खेतमा मेहेलकुना अस्पतालका प्रमुख डा.सोजन सापकोटामाथि हातपात तथा स्वास्थ्य संस्था तोडफोडको अभियोगमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

सुनारविरुद्धको अबहेलना मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको पाइएको छ । सो मुद्दामा गत असोज ६ गते पेसी तोकिएको भए पनि सर्वोच्च अदालत जलेपछि स्थगन भएको थियो ।