विराटनगर । विराटनगरको आरती स्ट्रिप्सले फलामे डन्डी (टीएमटी) उत्पादनमा पुनरागमन गर्ने भएको छ ।

भारतीय लगानीमा सञ्चालित यो उद्योगले सन् २०२६ को सुरुवातमै टीएमटी डन्डी बजारमा ल्याउने योजना बनाएको छ। यति मात्र होइन, अबको १८ महिनाभित्रै आफ्नै अत्याधुनिक मेल्टिङ युनिट पनि सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।

तीन वर्षअघि आरती स्ट्रिप्सले आफ्नो टीएमटी डन्डी उत्पादन युनिट बन्द गरेको थियो। सरकारी नीतिमा भएको परिवर्तनसँगै सुनसरी–मोरङ औद्योगिक करिडोरमा एकैपटक तीनवटा नयाँ मेल्टिङ युनिटसहितका स्टिल उद्योग आएपछि मेल्टिङ युनिट नभएका उद्योगहरु संकटमा परेका थिए । त्यसै बेला आरतीले आफ्नो उत्पादन स्थगित गरेको थियो ।

पछिल्लो बजेटले बिलेटमा आधारित उद्योगहरुलाई पनि प्रतिस्पर्धी बनाउने नीति लिएका कारण आरतीले तत्काल बिलेटमा आधारित उत्पादन सुरु गर्ने र दीर्घकालमा अर्थात १८ महिनाभित्र स्पन्ज मेल्टिङ प्लान्ट सञ्चालन गर्ने नीति अगाडि सारेको हो ।

खासगरी, अर्थमन्त्री वर्षमान पुनले बिलेट आयातमा लगाइएको प्रतिकिलो २ रुपैयाँ ५० पैसा अन्तःशुल्क हटाउने नीति लिएपछि बिलेट आयात सस्तो भएको र डा. प्रकाशशरण महतले स्पन्ज आइरनको महसुल बढाएर १ प्रतिशत बनाएपछि दुई उत्पादन बीचको अन्तर करिब ३ प्रतिशतमा सीमित हुने भएका कारण आरतीले तत्काल बिलेटमा आधारित डण्डी उत्पादन गर्ने निश्कर्ष निकालेको हो ।

उद्योगका सञ्चालक विशाल गुप्ताका अनुसार आरतीमा इटलीबाट ल्याइएको अत्याधुनिक टीएमटी उत्पादन मेसिनबाट गुणस्तरीय उत्पादन गर्ने छ । यो गुणस्तरको मेसिन पूर्वी नेपालमा अरु उद्योगसँग नभएको उहाँले बताउनुभयो । उहाँले २०२७ भित्र मेल्टिङ युनिट पनि सञ्चालनमा ल्याइसक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘यसका लागि बढीमा १८ महिना लाग्नेछ। प्राविधिक अध्ययन पूरा भएर रिपोर्ट आउनेबित्तिकै मेसिन ल्याएर उत्पादन थाल्ने हाम्रो तयारी छ ।’

सन् २००२ देखि कर्कटपाता उत्पादन गर्दै आएको आरती स्ट्रिप्सले सीआर सिट र स्क्वायर पाइप पनि उत्पादन गर्छ। गत आर्थिक वर्षमा उद्योगले १८ अर्ब ५० करोडको कारोबार गरेको थियो, जसमध्ये ९ अर्ब ९४ करोडको निर्यात र ८ अर्ब ४७ करोडको देशभित्र बिक्री भएको थियो। उद्योगले गत आवमा ११० करोडभन्दा बढी मूल्य अभिवृद्धि कर बुझाएको थियो भने एक हजार एक सय जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको जनाएको छ ।