काठमाडौंमा एमालेको प्रदर्शनलाई प्रशासनले दिएन अनुमति

काठमाडौंमा एमालेको प्रदर्शनलाई प्रशासनले दिएन अनुमति

विराटनगर । काठमाडौंमा नेकपा एमालेले भोलि शनिबार गर्ने प्रदर्शनको लागि प्रशासनले अनुमति नदिने भएको छ । सुरक्षा जोखिम बढ्ने भन्दै प्रशासनले प्रदर्शन निषेध गरेको हो ।

शुक्रबार एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सुरक्षा जोखिम बढ्ने भएकाले कुनै पनि समूहलाई प्रदर्शनको अनुमति नदिने निर्णय भएको जानकारी दिएका हुन् ।

प्रशासनको सूचनामा कुनै निश्चित सूमह तोकिएको छैन । तर, फरक–फरक समूहले शनिबार काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली तथा सभा गर्ने सूचना प्राप्त भएको प्रशासनले जनाएको छ ।

अहिलेको अवस्थामा र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने र आमनागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलता हुने भएकाले प्रदर्शनको अनुमति नदिइने प्रशासनको भनाइ छ । प्रशासनले पूर्वस्वीकृतिबिना कुनै पनि प्रकारका कार्यक्रम नगर्न र नगराउन पनि भनेको छ ।

एमालेको राष्ट्रिय युवा संघले भोलि काठमाडौंमा मोटरसाइकल र्‍याली निकालिने जनाएको थियो । युवा संघले दिउँसो १ बजे तीनकुनेबाट सुरु हुने र्‍याली बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै पुनः तीनकुनेमै सम्पन्न हुने जनाएको थियो ।

‘विभिन्न समूहहरूबाट हुने भनिएका र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शनजस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ’, प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।