विराटनगर । उदयपुरको वेलका नगरपालिका–४ लालबजारस्थित कजवेमा आएको बाढीले यात्रुबाहक माइक्रो बस बगाउँदा एक महिला बेपत्ता भएकी छिन्।
मोरङको रंगेलीबाट काठमाडौं जाँदै गरेको र बाटो बन्द भएपछि फर्किने क्रममा माइक्रो बसलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदारमान दोङले जानकारी दिए।
मध्यरातमा भएको उक्त घटनामा चालकसहित २२ जना यात्रु सवार थिए। बेपत्ता भएकी अन्दाजी ४५ वर्षीया महिलाको पहिचान खुल्न सकेको छैन।
प्रहरीले उनको खोजी कार्य जारी राखेको छ भने चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। बसमा सवार अन्य यात्रुहरू सकुशल छन् भने एक जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
