विराटनगर । पथरी शनिश्चरे नगरपालिकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत शशी राई खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकामा हाजिर नहुँदा नगरपालिकाको सम्पूर्ण कामकाज प्रभावित भएको छ । भदौ १२ गते राईको सरुवा भएकोमा हालसम्म पनि उनी अनुपस्थित रहँदा विकासे कामदेखि कर्मचारीको तलब भत्तासम्मका काममा असर परेको शशी राईले बताए ।

नगरपालिकाका उपप्रमुख विशन राईका अनुसार, प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त हुँदा जनताका काम र अन्य प्रशासनिक निर्णयहरू अलपत्र परेका छन् । अघिल्ला प्रमुख प्रशासकीय अधिकृत दिनेश राई अन्यत्र सरुवा भएर गइसकेपछि नगरपालिकाको प्रशासनिक काम अलपत्र परेको हो ।

‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा कुनै पनि काम अघि बढेको छैन,’ उपप्रमुख राईले भने, ‘कर्मचारीको तलब समेत अघिल्ला अधिकृतले उहाँकै सरुवा भएको ठाउँबाट मिलाइदिनुभएको हो ।

उपप्रमुख राईले सरुवा भएर आउनुपर्ने अधिकृत राईलाई पटक–पटक फोन गर्दा आफू नआउने जवाफ दिएको बताए ।
यता, प्रमुख प्रशासकीय अधिकृत शशी राईले भने आफ्नो गाउँमा पर्ने भएकाले उक्त नगरपालिकामा काम गर्न नसक्ने बताएका छन् । उनले आफ्नो सरुवा संशोधनका लागि निवेदन दिइसकेको जानकारी दिए । ‘त्यो मेरै गाउँ भएको हुनाले आफ्नो गाउँमा काम गर्न सकिँदैन, म जाँदिन भनेर मैले भनिसकेको छु,’ राईले भने । उनले दशैं र तिहारको बीचमा आफ्नो सरुवा संशोधन हुने बताए ।

सरकारले कर्मचारीलाई सरुवा भएको ठाउँमा अनिवार्य जान निर्देशन दिएको भए तापनि राईले आफ्नो व्यक्तिगत कारणले दिक्तेल जान नसक्ने अडान राखेका छन् । यसैबीच, प्रमुख प्रशासकीय अधिकृत जस्तो जिम्मेवार पद लामो समयसम्म खाली हुँदा दिक्तेल रुपाकोट मजुवागढीका नगरवासी भने प्रत्यक्ष मारमा परेको छ भने पथरी शनिश्चरेका स्थानीयले पनि लामो समय सम्म कर्मचारी बसेर विदामा पर्दा आन्दोलनको निशाना हुने गरेको बताउने गरेका छन् ।

‘एउटा कर्मचारी कति समय सम्म रहने हो । जति समय निर्दिष्ट कार्यालयमार्फत काममा रहनुपर्ने हो । त्योभन्दा झण्डै दोब्बर बढी समयसम्म एक ठाउँमा र उही भूमिकामा टिकिरहने विषयले कर्मचारी र जनप्रतिनिधिलाई पनि असर गर्छ ’स्थानीय अगुवा युवराज बास्कोटाले भने । एकजना कर्मचारी लामो समयसम्म टिकेर रहदा जनप्रतिनिधि प्रति अविश्वार पैदा भएर त्यसको असर जेनजी आन्दोलनमा परेको स्थानीयकाे आराेप छ ।

भदौ १२ गतेको निर्णयले नै पथरी शनिश्चरेमा जिल्ला समन्वय समिति भक्तपुरका जिल्ला समन्वय अधिकारी राधाकृष्ण खतिवडाको सरुवा गरेको थियो । प्रमुख प्रशासकिय अधिकृत राइले नै खतिवडालाई हाजिर हुन नआउन भनेर मेयर मोहन प्रसाद तुम्वापोलाई भन्न लगाएको स्रोतले बतायो । खतिवडाले पनि राइ सरुवा भएको ठाउमा नगएका कारण आफु हाजिर हुन जान नपाएको बताएका छन् ।