विराटनगर । झापाको विर्तामोडमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आन्दोलनकारीहरुले आगजनी गरेका छन् । मंगलबार बिहान प्रदर्शनकारीहरूले पार्टी कार्यालयमा आगो लगाएका हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोख्रेलले आगजनीको सूचना पाउनासाथ प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् । आन्दोलनकारीले सोमबार मात्रै सोही कार्यालयमा तोडफोड गरेका थिए ।
देशभर चर्किएको ‘जेन–जी’आन्दोलनका क्रममा प्रदर्शनकारीले विभिन्न स्थानमा प्रदर्शन र तोडफोड गरिरहेका छन् । झपाको दमक र विर्तामोडमा सोमबार रातिदेखि नै तनावपूर्ण स्थिति रहेको र कर्फ्युसमेत लगाइएको थियो । प्रदर्शनकारीले दमक नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवनमा पनि आगजनी गरेका थिए ।
सोमबारको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा १९ जनाको ज्यान गएको थियो, जसले गर्दा आन्दोलन थप चर्किएको हो ।

