काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री अधिकारीले आइतबारको आन्दोलनमा भएको दमन, हत्या र बल प्रयोगले देश तानाशाही व्यवस्थातर्फ उन्मुख भएको भन्दै सो घटनाप्रति क्षमायाचना गर्दै पदबाट राजीनामा दिएको बताएका छन् ।

राजीनामाको घोषणा गर्दै मन्त्री अधिकारीले भनेका छन्, “लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो । तर, यसको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानाशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भनी म झस्किएको छु ।” उनले देश निर्माणमा सहकार्य गर्नुपर्ने पुस्तासँग युद्ध जस्तो व्यवहार भएको प्रति प्रश्न उठाएका छन् र यसको जवाफ नखोजी सत्तामा बस्न आफूलाई असह्य भएको बताएका छन् ।
मन्त्री अधिकारीले थपे, “ससाना कलिला छोराछोरीहरूको हत्या र दमनपश्चात् देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको छ । मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु ।”