सरकारले संसदलाई हप्कायो, बजेट लुटपाटमा परिणत भयो : नेता आङ्बो

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले ल्याएको बजेट असन्तुलित र मनोमानीपूर्ण भएको भन्दै त्यसले स्रोतको लुटपाटलाई प्रश्रय दिएको आरोप लगाएका छन्। प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको बजेट निर्माण प्रक्रिया र मन्त्रीहरूको जवाफप्रति कडा आपत्ति जनाएका हुन्।

पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्बोले सरकारले संसदीय प्रक्रिया र मर्यादालाई मिचेर अघि बढेको बताए। “संसद विपक्षीको आवाज मुखरित गर्ने ठाउँ हो, तर यहाँ प्रतिपक्षीको आवाज दबाउन खोजियो र मन्त्रीहरूले जवाफ दिनुको साटो सदनलाई हप्काउने काम गर्नुभयो,” उनले भने।

नेता आङ्बोले बजेट विनियोजनमा चरम असन्तुलन देखिएको दाबी गरे। उनले तथ्यांक प्रस्तुत गर्दै भने, “यो चोटि स्रोतमा चरम दोहन र लुटपाट भएको छ। केही सीमित जिल्लामा अर्बौंको बजेट थुपारिएको छ भने चारजना सांसद भएको पाँचथर जस्तो जिल्लामा जम्मा ३६ करोड मात्रै छुट्याइएको छ। यो न्यायोचित वितरण होइन।”

आफ्नो कार्यकालमा प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रमा बहुवर्षे आयोजनाहरू पुर्‍याउने गरी सन्तुलित बजेट ल्याएको स्मरण गराउँदै उनले वर्तमान सरकार आफ्ना कमजोरी लुकाउन विगतलाई दोष दिएर उम्किन खोजेको आरोप लगाए। उनले सरकारलाई जिम्मेवार र जवाफदेही बन्न आग्रह गर्दै यस्तो असन्तुलित बजेट नसच्चिएसम्म सदन र सडकबाट निरन्तर आवाज उठाइरहने चेतावनी दिए। “सरकारले राम्रो काम गरोस्, हामी स्वागत गर्छौं। तर मनपरी गरेर कोको पारेर बजेट एकैठाउँमा लैजाने प्रवृत्ति हामीलाई स्वीकार्य छैन,” उनले भने।

शुक्रबार, १३ असार, २०८२, दिउँसोको ०२:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर