हुलाकी राजमार्ग निर्माणले लिएन गति

विराटनगर । हुलाकी राजमार्गको मोरङ खण्डको निर्माणमा देखिएको ढिलाइले स्थानीयवासीलाई निरन्तर सास्ती दिइरहेको छ । राष्ट्रिय गौरवको आयोजना भनिएको यस सडक निर्माणको सुस्तताले जनजीवनमा प्रत्यक्ष प्रभाव पारेको छ ।
मोरङको ४४ किलोमिटर दूरीमा निर्माण हुनुपर्ने सडकको अवस्था दयनीय बनेको छ । विशेष गरी विराटनगर महानगरपालिका–८ को हाटखोलादेखि कटहरी गाउँपालिकाको राम चोकसम्मको छ किलोमिटर सडक वर्षायाममा हिलोमा डुब्छ भने सुख्खा मौसममा धुलाम्मे हुन्छ। यो खण्डमा काम गर्न जिम्मेवार श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालिले पाँच वर्षमा मात्र २२ प्रतिशत प्रगति गर्न सकेको छ ।

सडक निर्माणमा देखिएको मुख्य समस्या ठेकेदारको लापरवाही र जिम्मेवारीहीनता रहेको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताएका छन् । उनका अनुसार राष्ट्रिय गौरवको आयोजनामा स्रोतको अभाव देखाउँदै सम्बन्धित कार्यालय ठेकेदारप्रति नरम भएको कारणले सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

सडक निर्माणको क्रममा पुरानो कालोपत्रे सडकको दायाँबायाँ विस्तार गर्दा भत्काइएको भागमा सवारी साधन गुडाउन जोखिम उत्पन्न भएको छ । सडक विस्तारपछि विद्युतका पोलहरूले सडकका बिच भागमा बाधा गरिरहेका छन् । त्यससँगै जताततै लत्रिएको तारले दुर्घटनाको जोखिम बढाएको छ ।

२०७६ सालमा दुई वर्षभित्र काम सक्ने भन्दै ठेक्का लिएको श्रेष्ठ कन्स्ट्रक्सनले विभिन्न पेटी ठेक्का लगाउँदै काम अघि बढाइरहेको छ । पेटी ठेकेदारहरू पनि बारम्बार परिवर्तन भइरहेका छन् । केही समयअगाडिसम्म भूपाल श्रेष्ठमार्फत निर्माण भइरहेकोमा अहिले अभिषेक गिरीमार्फत काम भइरहेको छ ।

विद्युतका पोल सार्ने काम ठेकेदारकै जिम्मेवारीमा रहे पनि पाँच वर्षसम्म यो काम सकिएको छैन। ठेक्का सम्झौताको समयमा दुई करोड ५० लाख रुपैयाँ विद्युतका पोल र खानेपानी पाइपका लागि व्यवस्थापन भएको थियो तर समयमै काम नहुँदा अहिले एक करोड रुपैयाँभन्दा बढी लागत बढ्न गएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले सम्झौता अनुसार ठेकेदारले काम नगरेर हैरान पारेको बताएका छन् । काम नभएपछि भुक्तानी दिन पनि ढिलो हुँदै आएको र पछिल्लो समय भुक्तानीमा समस्या हुन थालेको उनले जानकारी दिए ।

मोरङको धनपालथानको बेतौनादेखि कटहरीको नयाँ बजारसम्मको १२ किलोमिटरको काम अन्तिम चरणमा पुगेको छ भने रङ्गेली, सुनबर्सी, रतुवामाई नगरपालिका क्षेत्रका सडकखण्डको काम सकिएको छ । तर पथरीदेखि रंगेलीसम्मको २५ किलोमिटर सहायक मार्गको कामको गति पनि सुस्त रहेको छ ।

शुक्रबार, १३ असार, २०८२, बिहानको ०८:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर