लेखा प्रमुखले खर्चको विवरण नदिँदा बेलबारीमा तनाव

विराटनगर । मोरङको बेलबारी नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिहरूबीच देखिएको विवाद समाधान हुनुको साटो दिनप्रतिदिन चर्किँदै गएको छ । नगर प्रमुख, उपप्रमुख र कर्मचारीहरू विभाजित भएपछि स्थानीय प्रशासनमा तनाव बढेको हो ।
विवादको केन्द्रमा रहेको मुख्य विषय भनेको नगरपालिकाको आर्थिक पारदर्शिता हो । उपप्रमुख नितु थापा कोइरालाले नगरपालिकाकी लेखा अधिकृत धनमाया राईसँग चालू आर्थिक वर्षमा विनियोजित बजेटको खर्चको विवरण मागेकि थिइन् । लेखा अधिकृत राईले सुरुमा खर्चको विवरण नगरपालिकाको वेवसाइटमा उपलब्ध रहेको भन्दै जानकारी दिन अस्वीकार गरेकी थिइन् । पछि थापाले प्रिन्ट गरेर दिन भनेपछि विवरण दिएकी थिइन् ।

उपप्रमुख थापाले मसलान्दलगायतका केही शीर्षकमा खर्च बढी भएको देखेपछि थप विस्तृत विवरण माग्दा लेखा अधिकृतले गोपनीयताको हकमा परेको भन्दै जानकारी दिन अस्वीकार गरेको आरोप लगाइन् ।

प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर राजावटलेसमेत महालेखा परीक्षकको कार्यालयबाट लेखा परीक्षक बोलाउँदा क्षेत्राधिकार तोकेको पत्र पठाउने भन्दै सबै विवरण दिन नमिल्ने भनेको उपप्रमुखको आरोप छ ।

यसैबीच, नगरपालिकाका सूचना अधिकारी कृष्ण न्यौपानेले उपप्रमुखले कर्मचारीको तलबको सेड्युल मागेकोले गोपनीयता भनेर उपप्रमुखले नदिएको बुझिएको बताए । ‘मलाई धेरै थहा छैन,’ उनले भने ‘विवाद भएपछि बुझ्दा कर्मचारीको तलब दिन नमिल्ने भनेर भन्नु भएको बुझेको छु ।’

लेखा प्रमुख राईले भने आफू यस विषयमा नबोल्ने जबाफ दिइन् । उनले कर्मचारीको तर्फबाट विज्ञप्ती निकालेको बताइन् ।
उपप्रमुखलाई लेखा अधिकृतले खर्चको विवरण नदिएपछि बेलबारीका अगुवा तथा स्थानीय बासिन्दा र नगर प्रमुखबीच नोकझोकसमेत भएको छ । नागरिक समाजका अगुवा तथा केही युवाहरू नगरपालिकामा पुग्दा गेटमा नगर प्रहरी राखेर उनीहरूलाई प्रवेशमा रोक लगाइएको थियो ।

कांग्रेसका नगर सचिव जनक पोख्रेललाई नगर प्रहरीले कार्यालयमा प्रवेशमा रोक लगाएका थिए । पोख्रेललाई कार्यालयमा छिरेपछि आक्रोशित युवाहरू कार्यालयमा छिरेर हो–हल्ला गरेका थिए । त्यसपछि प्रमुख प्रशासकीय अधिकृत तथा लेखा अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए । त्यही बेला नगर प्रमुखले ताला फोरेका थिए ।

ताला फोरेपछि नगर प्रमुखकै कार्यकक्षमा पुगेका असन्तुष्ट युवा र नगर प्रमुख राईबीच झण्डै हातपात समेत हुने अवस्था आएको सिर्जना भएको थियो । छलफल चलिरहेको बेला राईले कुर्सीबाट उठेर पोख्रेल माथि झमट्न पुगेका थिए । राई आप्mनो कार्यकक्षबाट उठेर गएको भिडियोमासमेत प्रस्ट देखिन्छ । । कर्मचारी र नगर प्रहरीले मेयरलाई रोकेका थिए ।

बेलबारीमा यसअघि पनि कर्मचारीको विषयलाई लिएर जनप्रतिनिधिहरू विभाजित भएका थिए । तत्कालीन नगरपालिकाका अधिकृत महेन्द्र खड्काले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेको भन्दै उनको जिम्मेवारी खोसिएको थियो ।
नगर प्रमुख राईले नै प्रशासन प्रमुख खड्कालाई कारबाही गरेका थिए । त्यसबेला पनि उजुरीबारे छानबिन नै नगरी कारबाही गरेको भन्दै उपप्रमुख नितु थापा कोइराला अधिकृत खड्काको पक्षमा देखिएकी थिइन् । खड्का अहिले वन वातावरण तथा पर्यटन मन्त्रालयमा हाजिर भएका छन् ।

नगर प्रमुख राई एमालेका हुन् भने उपमेयर थापा कांग्रेसकी हुन् । मािथल्ला दुई तहका सरकारमा एमाले र काग्रेस संयुक्त भएपनि स्थानीयतहमा भने विभाजीत नै छन् । मेयर राईले यस विषयमा आफूलाई नभएर पत्रकारलाई सोध्न भनेका छन् । उनले त्यहाँ पुगेका पत्रकारलाई समेत बिहीबार भिडियो र फोटो नखिच्न भन्दै आक्रोस जनाएका थिए ।

कर्मचारीले भने केही राजनीतिक व्यक्तिहरूको निर्देशनमा कार्यालय परिसरमा प्रवेश गरी कर्मचारीहरूलाई लक्षित गरी गरिएको अभद्र व्यवहार, धम्की र दुव्र्यवहार गरेको आरोप लगाएका छन् । कर्मचारीहरूलाई बोरामा हालेर बाधेर घिसारे र लाने भनेर धम्की दिएको आरोप लगाएका छन् । कर्मचारीलाई शारीरिक र सांघातिक आक्रमण गर्ने धम्की दिएको कर्मचारीले निकालेको विज्ञप्तीमा उल्लेख गरीएको छ । उनीहरुले तालाबन्दी गर्ने लगायतका आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेका छन् ।

शुक्रबार, १३ असार, २०८२, बिहानको ०७:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर