अबैध उत्खनन् रोक्नखोज्दा मेयरले खोसे वडाध्यक्षको सुविधा

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयरले आफ्नो आलोचना गर्ने वडाअध्यक्षको सुविधा रोक्का गर्ने निर्णय कार्यपालिका बैठकबाटै गराएका छन् ।

नगर प्रमुखको कार्यशैलीको विरोध गर्ने चौदण्डीगढी ७ का वडाध्यक्ष केशब अधिकारीको मासिक सुविधा रोक्ने निर्णय नगरपालिकाको १२ औँ नगर कार्यपालिका बैठकबाट गरिएको पाइएको छ ।

अधिकारीले वडाध्यक्षको पदीय जिम्मेवारी निर्वाह नगरेको तथा मेयर तथा अन्य जनप्रतिनिधिको सार्वजनिक रुपमा आलोचना गरेकोले सुविधा रोक्ने निर्णय गरिएको माइन्युटमा उल्लेख छ । वडाध्यक्षको सुविधा रोक्नेसहित आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रम वडा सदस्य राजेश श्रेष्ठमार्फत तर्जुमा गराउने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।

नगर कार्यपालिकाको वैशाख २१ गते भएको निर्णय ढिलो गरि सार्वजनिक भएको हो । वडाध्यक्षमाथि गरिएको कार्वाही कुन कानुन वा नियमको आधारमा गरिएको हो भन्ने कार्यपालिका बैठकले केहि खुलाएको छैन । कुनैपनि जनप्रतिनिधिलाई उसको सुविधा खोस्ने र जिम्मेवारीबाट हटाउने निर्णय कार्यपालिका बैठकले गर्ने कुनै कानुनी व्यवस्था छैन ।

वडाध्यक्ष अधिकारीले अवैध उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको कारण आफूविरुद्ध निर्णय भएको बताएका छन् । नगर प्रमुख कालुमान लामाले आफन्त प्रयोग गरेर ढुंगा, गिटी, बालुवा र माटो बिक्री गरी राजस्व छली गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा आफूले दिएपछि यस्तो निर्णय भएको उनको भनाइ छ ।

‘मैले नगरपालिकाबाट वडाध्यक्षको सेवा–सुविधा गएको वैशाखदेखि पाएको थिइनँ’ उनले भने, ‘कारण खोज्दै जाँदा कार्यपालिकाको बैठकबाट निर्णय गरेर रोकिएको थाहा भयो ।’ गैरकानुनी रुपमा कार्यपालिका बैठकले निर्णय गरेकोले त्यसविरुद्ध अदालतमा जाने अधिकारीले बताएका छन् ।

चौदण्डीगढी नगरपालिकाको २ र ४ मा पर्ने लामाखोला र माडीबास खोलामा अवैध रूपमा नगरप्रमुखकै सेटिङमा ढुंगा, गिटी, बालुवा र माटोको उत्खनन भएको भन्दै वडाध्यक्ष अधिकारीले विरोध गरेका थिए । नगरप्रमुख कालुमान लामाको सेटिङमा अवैध उत्खनन भएको भनी परेको उजुरीका आधारमा आयोगको इटहरी कार्यालयमा उजुरीसमेत दिएका थिए ।

उजुरी छानबिनको प्रक्रियामा रहेको जानकारी पाएको अधिकारीले बताएका छन् । उनले अवैध उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयमा १९ वैशाख २०८२ मा ज्ञापनपत्र बुझाउँदा नगरप्रमुखको कार्यशैलीको विरोध गरेका थिए । उत्खननपीडित स्थानीयले वडाध्यक्ष अधिकारीलाई साथ दिँदै आएका छन् ।

चौदण्डी नगरपालिकामा नेकपा एमालेको बहुमत जनप्रतिनिधि छन् । वडाध्यक्ष अधिकारी पनि एमालेबाटै निर्वाचित वडाध्यक्ष हुन् ।

सोमबार, ०९ असार, २०८२, साँझको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर