नेप्सेसँगै कारोबार पनि घट्यो

विराटनगर । हाइड्रो तथा होटल कम्पनीबाट लगानीकर्ताहरु लघुवित्त कम्पनीहरुमा आकर्षित हुँदा मंगलबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ ।

अघिल्ला दुई दिनमा सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन ३.९० अंक घटेर २६५४.७५ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । सोमबार १३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०६ स्टकको ७० हजार ७७ पटकको कारोबारमा ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार रुपैयाँबराबरको १ करोड ६४ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन पियोर इनर्जीको शेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ९९ रुपैयाँ ७० पैसा बढेर १ हजार ९७ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ । यस कम्पनीको शेयरमूल्य निरन्तर ११ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

यस दिन बुटवल पावर कम्पनीको शेयरमूल्य पनि करिब ८ प्रतिशत बढेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा धेरै बढेको छ । कारोबारमा आएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ४.६२ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ७४ करोड ९६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको करिब साढे ६० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको ४६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।
पछिल्ला दिनहरुमा हाइड्रोपावर र होटल तथा पर्यटन कम्पनीहरुमा आकर्षित भएका लगानीकर्ताहरु यस दिन भने लघुवित्त कम्पनीहरुमा सिफ्ट भएका छन् । बजारका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै बढेको छ ।

नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुमध्ये ४५ कम्पनीहरुको शेयरमूल्य बढेसँगै यस उपसमूहको परिसूचक पनि बढ्न पुगेको हो । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.५८ प्रतिशत घटेको छ ।

मङ्गलबार, ०३ असार, २०८२, साँझको ०५:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर