विराटनगर । धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ र उपमेयर इन्द्रविक्रम बेघाबीच श्रमदान कार्यको भुक्तानीको विषयलाई लिएर तीव्र विवाद भएको छ ।विवाद चर्किँदै जाँदा सोमबार बजेट सीमा निर्धारण समितिको बैठकका क्रममा मेयरका समर्थकहरूले उपमेयरमाथि हुलहुज्जत र हातपातको प्रयाससमेत गरेको आरोप लागेको छ।
मेयर साम्पाङले धरान उपमहानगरण् १६ मा रहेको बहुभाषिक पाठशाला संरक्षणका लागि श्रमदान गरेको भिडियो फोटो सार्वजनिक गरेका थिए। तर बहुभाषिक पाठशाला उपमहानगरकै बजेटबाट बनेको उपमेयर पक्षको भनाइ छ। मेयर साम्पाङले श्रमदानबाट ग्याबिन बनाएका हुन्। पहिला श्रमदान भनेर प्रचार गरिएको ग्याबिनको भुक्तानीका लागि उपमेयरलाई दबाब दिएपछि यो विवाद उत्पन्न भएको उपमहानगर स्रोतले बतायो।
उपमेयर बेघाले मेयरले आफूलाई जानकारी नदिई उपभोक्ता समिति गठन गरेको र अनुगमन नगरी भुक्तानी गर्न दबाब दिएको आरोप लगाएका छन्। अनुगमन नभएका कारण रकम निकासा रोकिएपछि मेयर साम्पाङ थप रिसाएका थिए।
‘अनुगमन नै नगरी भुक्तानी हुने गरेको रहेछ,’उपमेयर बेघाले भने, ‘कर्मचारीले डरले भन्न सकेका थिएनन्। अहिले भने कर्मचारीले फस्ने डरले पहिलाका घटना पनि सुनाउन थालेका छन्।’
सोमबार आर्थिक वर्ष २०८२-०८३ को बजेट सीमा निर्धारण समितिको बैठक बसेको थियो। बैठक चलिरहेको बेला मेयर साम्पाङले उपमेयर बेघालाई आफ्नै कार्यकक्षमा बोलाएका थिए। उपमेयर मेयरको कक्षमा पुग्दा त्यहाँ मेयरका समर्थकहरू जम्मा भएका थिए।त्यसपछि हो हल्ला र हुलहुज्जत गर्दै हात हतियारसहित आएका मेयर साम्पाङका समर्थकले हातपातको प्रयास गरेको उपमेयरको आरोप छ।
पछिल्लो समय मेयर उपमेयरको विवाद धरानको बगरकोटबाट शुरू भएको थियो। स्रोतका अनुसार त्यहाँ पुल जोगाउन ग्याबिन लगाउनुपर्ने थियो। मेयर साम्पाङले श्रमदानबाट काम गरेको भनेर प्रचार गरिरहेका थिए।
उपमेयर बेघा पनि त्यहाँ गएका थिए र उनले उपमहानगरले तारजाली बाँडेको हो भनेर भनेका थिए। आफूले गरेको काममा तारजाली उपमहानगरले दिएको भनेर मेयर साम्पाङ थप रुष्ट बनेका थिए।
त्यसपछि बसेको विपद व्ययस्थापनि समितिको बैठकमा शुरूमै मेयर साम्पाङले ३ सय वटा तारजाली मैले बाँडेको छु, त्यसको भुक्तानी गर्नुपर्छ भनेपछि उपमेयरले यस्तो काम गर्न सकिँदैन भनेर मेयरको प्रस्तावको ठाडो विरोध गरेका थिए ।
ूसंस्थागत निर्णय भएर गरेको भए भुक्तानी हुन्छ, नत्र कसरी हुन्छ र ? भनेर उपमेयर बेघाले प्रतिवाद गरेपछि मेयर उपमेयरबीच तिक्तता बढेको अन्य जनप्रतिनिधि बताउँछन्।
मेयर साम्पाङले मंगलबार बिहान पत्रकार सम्मेलन गरेर उपमेयरले असहयोग गरेको आरोप लगाए। ‘पाठशालाको पछाडिपट्टि भत्केको थियो। गत जेठ १६ गते आएको बाढीले थप क्षति बनायो। पाठशाला जोगाउन हामीले काम गरेका हौं। खोला कसैको हुँदैन। काम गर्ने मान्छे एउटा घरमा बसेर हाम्रो अभियानलाई असहयोग गर्नेलाई त राख्न सकिँदैन,’मेयर साम्पाङले भने। उपभोक्ता समिति बनाउँदा १६ नम्बरको वडाअध्यक्षले हस्ताक्षर गरे पनि काम सकिएपछि सार्वजनिक परीक्षण गर्दा असहयोग गरेकाले आफूले नै हस्ताक्षर गरेर कागजात बनाएको मेयर साम्पाङले बताए।
मेयर साम्पाङ स्वतन्त्र हुन् भने उपमेयर बेघा माओवादीबाट निर्वाचित भएका हुन्।