विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आइतबार प्रदेशसभामा पेश गरेको आगामी आर्थिक वर्षको बजेटको हिसाब नै गडबढी रहेको देखिएको छ ।
प्रदेशसभामा मन्त्री मगरले ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट पेश गरेका छन् । त्यसमा कूल बजेट र त्यसको स्रोत अनुसार खर्चको हिसाब मिलेको छैन । बजेटको स्रोततर्फ पनि त्रुटीपूर्ण तथ्यांक राखिएको छ । खर्चको हिसाब पनि कुल बजेटभन्दा १ लाखले कमी देखिएको छ ।
मन्त्री मगरले प्रस्तुत गरेको कूल बजेटको खर्चअन्तर्गत चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख, पूँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख र वित्तीय व्यवस्थापनतर्फ १० करोड हुने अनुमान पेश गरेका छन् । त्यसको कुल जोड ३५ अर्ब ८७ करोड ९८ लाख हुन्छ । तर, मन्त्री मगरले कुल बजेट ३५ अब ८७ करोड ९९ लाख रहेको बताएका छन् । यो हिसाबमा प्रदेशको बजेटमा खर्चभन्दा आम्दानी १ लाख बढि हुने देखिएको छ ।
बजेटको स्रोततर्फको जोडमा त झनै ठूलो गडबढी छ । खर्च ब्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, समपुरक अनुदानबाट ३९ करोड १७ लाख र विशेष अनुदानबाट ५५ करोड ७२ लाख हुने अनुमान छ । त्यो जम्मा गर्दा राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ३९ करोड ९३ लाख हुन्छ । तर, मन्त्री मगरले बजेट वक्तव्यमा ३२ अर्ब ७४ करोड ९९ लाख लेखेका छन् । प्रदेशसभामा पनि उनले त्यहि बाचन गरे ।
त्यसबाहेक रोयल्टीबाट प्राप्त हुने रकम ३५ करोड ६ लाख र बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब १३ करोड ब्यहोरिने बजेट बक्तब्यमा उल्लेख छ । मन्त्री मगरले प्रस्तुत गरेजस्तो राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३२ अर्ब ७४ करोड ९९ लाख प्राप्त भएमा प्रदेशको जम्मा आम्दानँी ३६ अर्ब २३ करोड ५ लाखको हुनेछ । जुन खर्चको तुलनामा ३५ करोड ६ लाखले बढि हुनेछ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयबाट तयार भएको बजेटको अंकमै त्रुटी हुनुको पछाडि बजेटको तयारीमा भएको लापर्वाही र अन्तिम समयमा पनि बजेटमा भएको चलखेललाई कारण मानिएको छ । यसले आर्थिक मामिला तथा योजना मन्त्री र सिंगो मन्त्रालयमाथि प्रश्न उठ्ने देखिएको छ ।