विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि कृषी, उद्योग तथा सहकारी क्षेत्रमा २ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रदेश सभामा आइतबार बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरले विभिन्न कार्यक्रमहरूका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए। मन्त्री रानामगरका अनुसार स्थानीय सम्भाव्यता, स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्यमा फलफूल उत्पादन, प्रशोधन र बजारीकरणका लागि १६ करोड ६५ लाख रुपैयाँ छुट्याइएको छ।
त्यसैगरी कृषी कर्जामा ब्याज अनुदानका लागि १४ करोड रुपैयाँ विनियोजन गरिएको छ। पशुपन्छीमा लाग्ने खोरेत लगायत महामारी नियन्त्रण गरी गुणस्तरीय पशुपालन प्रवर्द्धन गर्ने उद्देश्यले २२ करोड रुपैयाँ असल पशुपालन कार्यक्रम अन्तर्गत विनियोजन गरिएको छ।
प्रदेश सरकारले चक्रिया कोष स्थापनाका लागि २ करोड रुपैयाँ छुट्याएको छ भने चिया सम्मेलन आयोजनाका लागि पनि छुट्टै २ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ। सरकारले उत्पादनमुखी र व्यावसायिक कृषी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम अघि सारेको जनाएको छ।