विराटनगर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका तीन मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो । उनीहरुलाई नोबेल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिए ।
फिदिन नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ जोड्ने हेंवा खोलामा सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय इलामले ७० मिटर लामो मोडूलार बेलिब्रिज निर्माण गरिरहेको थियो । हेंवा खोलाको फिदिम नगरपालिकातर्फको भागमा बेलिब्रिज जडान गरी स्काभेटरको सहायताले ठेलेर खोला पारिपट्टि हिलिहाङ गाउँपालिकातर्फ टेकाइएको थियो । फिदिमतर्फको भागको भार अत्यधिक हुँदा बेलिब्रिज भाँचिएको प्रत्यक्षदर्शीको भनाइ छ ।
बेलिब्रिज भाँचिदा जडानको काम गरिरहेको ६ जना कामदार बेलिब्रिजसँगै खोलामा झरेर घाइते भएका थिए । घाइतेमध्ये २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
२०८० असार २ गते आएको बाढीले यहाँ रहेको ४५ मिटर लामो सडक पुल बगाएपछि सोही वर्षको साउनमा सोही स्थानमा करिब ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो । तर, सो बेलिब्रिज गत असोज १२ गते आएको बाढीले बगाएपछि करिब ९० मिटरमुनि नयाँ बेलिब्रिज निर्माण गरिरहेकामा कार्य सम्पन्न हुन लाग्दा भाँचिएको हो ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको बेलिब्रिजको संरचना निर्माण तथा जडान ३ करोड ४९ लाख रुपैयाँको लागतमा सुपर सौगात लाइट बिल्डर्स जेभीले काम गरिरहेको थियो ।
असोजमा बेलिब्रिज बगेपछि हेवा खोलामा डाइभर्सन बनाएर अवरुद्ध मेची राजमार्ग खोलिएको थियो । अहिले पनि डाइभर्सनबाटै यातायात सञ्चालनमा छ । पुल भाँचिएपछि बर्खामा ताप्लेजुङसँगको यातायात सम्पर्क टुट्ने जोखिम बढेको छ ।