अटोमोबाइल व्यवसायलाई थप व्यवस्थित र प्रवर्द्धनमा जोड

विराटनगर । अटोमोबाइल व्यवसायलाई थप व्यवस्थित र प्रवर्द्धन गर्न व्यवसायीहरूले जोड दिएका छन् ।
विराटनगरमा शनिबार भएको मोरङ अटोमोबाइल डिलर्स एसोसिएशनको १३ औं वार्षिक साधारणसभा तथा ९ औं अधिवेशनको उद्घाटन समारोहमा व्यवसायीहरूले यस्तो बताएका हुन्।

अटोमोबाइल एसोसिएशन मोरङका अध्यक्ष संजय कुमार श्रेष्ठले अटोमोबाइल व्यवसायीका समस्याबारे धारणा राख्दै अटो व्यवसायलाई थप व्यवस्थित र प्रवर्द्धन गर्न सरकारसँग माग गरे । उनले भने, ‘बेमौसमी वर्षा, सडकको खराब अवस्था, पेट्रोलियम समस्या लगायतले अटो व्यवसाय प्रभावित बनेको छ।

श्रेष्ठले सरकार र सम्बन्धित निकायसँग सहकार्य गर्दै भन्सार समस्या समाधान, रोड परमिट, ट्राफिक प्रणाली, स्टिकर अनिवार्यता र अन्य प्रशासनिक झन्झटलाई अनलाइन प्रणालीमार्फत सरल बनाउने प्रस्ताव राखे। उनले पुनः फ्यांकिएको गाडी चलाउने प्रक्रियाबाट बच्न स्टिकरको प्रावधानलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताए ।

उनका अनुसार, ड्राइभिङ तालिम, सर्भिसिङ तथा मर्मतसम्भार क्षेत्रमा तालिममार्फत दक्ष जनशक्ति उत्पादन भइरहेको छ। तर मर्मत पेशामा दक्ष जनशक्तिको अभाव रहेको भन्दै यस क्षेत्रको पूर्वाधार विस्तार गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष श्रेष्ठले विद्युतीय सवारीलाई प्रोत्साहन गर्न कर छुट, चार्जिङ स्टेशनको व्यवस्था, निजी क्षेत्रलाई सहभागी गराउने, र सरकारबाट नीति निर्माणको माग गरे। उनले विद्युतीय सवारी साधनले व्यापार घाटा कम गर्न मद्दत गर्ने र वातावरणमैत्री यातायातमा योगदान पुर्‍याउने बताए ।

भन्सार कार्यालय विराटनगरमा पर्याप्त पूर्वाधारको अभावले सेवा प्रभावित भइरहेको जनाउँदै, आन्तरिक राजस्व कार्यालय र भन्सार विभागसँग समन्वय गरी समस्याको समाधानको माग राखे। उनले सवारी आयात प्रक्रियामा स्पष्टता र सहजता ल्याउन जोड दिए ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले कार्यक्रम उद्घाटन गरे। कार्यक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष नविन रिजाल, सिएनआइका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे लगायतको उपस्थिति थियो ।

उनीहरूले अटो व्यवसायको संरचनागत सुधार र नीतिगत स्पष्टताका लागि निजी क्षेत्र र सरकारबीच थप समन्वय आवश्यक रहेको धारणा राखे।

शनिबार, ३२ जेठ, २०८२, दिउँसोको ०३:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर