
गणेश लम्साल
यही जुन ५, २०२५ अर्थात् जेठ २२, २०८२ का दिन नेपालमा पनि विश्व वातावरण दिवस तामझामका साथ मनाइयो । “प्लास्टिक प्रदूषण उन्मूलन गरौँ” भन्ने मूल नाराका साथ यो वर्षको विश्व वातावरण दिवस विराटनगरमा पनि प्रभातफेरि, वृक्षारोपण अनि विभिन्न अन्तरक्रिया कार्यक्रमहरू गरेर मनाइयो । वातावरण दिवसको मूल नारा “प्लास्टिक प्रदूषण उन्मूलन गरौँ” तय गर्नुको उद्देश्य पृथ्वीलाई प्लास्टिकको प्रकोपबाट मुक्त बनाउनु, माटो, पानी, खाना शुद्ध बनाउनु र जीवित जीवहरूको जीवन रक्षा गर्नु हो ।
हरेक वर्ष मनाइँदै आएको विश्व वातावरण दिवसले धेरै सकारात्मक प्रभाव पनि पारेको छ । वातावरण जीवित जीवहरूका लागि हो, त्यसैले वातावरण शुद्ध बनाउने जिम्मेवारी हामी मानवहरूकै हो भन्ने सन्देश दिन यो दिवस सफल भएको छ । अझ यत्रतत्र सर्वत्र फैलिरहेको प्लास्टिक प्रदूषणको आतंकविरुद्ध सन्देश प्रवाह गर्न पनि वातावरण दिवस सफल नै छ । तर नेपालमा जे जसरी देखावटीका लागि मात्र सरकारी र गैरसरकारी क्षेत्रबाट वातावरण दिवस मनाइन्छ, त्यसले मात्र वातावरणको सुरक्षा सम्भव छैन । न त प्लास्टिक प्रदूषण नियन्त्रण नै गर्न सकिन्छ ।
विराटनगरको जनआन्दोलन चोकमा भेला भएर प्रभातफेरी गरिएको थियो, जसमा विभिन्न संघसंस्था, महानगर र कोशी सरकारसमेतको सहभागिता थियो । तर “प्लास्टिक प्रदूषण मुक्त रह्यो” भन्ने नारा लेखिएका ब्यानरहरू नै प्लास्टिकमा प्रिन्ट गरिएका थिए । प्रभातफेरीमा सहभागी हुनेहरूले कम्तीमा ‘म आज प्लास्टिकको बोतलमा राखेको पानी चाहिँ खान्न’ भन्न सकेनन् । धेरैले चिसो पानी खरिद गरेरै पिए ।
हुन त भन्नेलाई धेरै सजिलो हुन्छ तर गर्नेहरुलाई धेरै गाह्रो हुन्छ । तर, नियमनकारी निकाय, दवाव समूहहरुले नै वतावरण दिवसलाई कसरी नारा अनुकुल बनाउने भन्ने व्यवहारिक पाटोबाट नसोच्दा राम्रो सन्देश दिन चाहेर पनि प्रश्नहरु उठिरहेका हुन्छन् । धन्न यसपाली वतावरण दिवसमा प्रभातफेरी गर्नेहरुले फ्रुटी, जुस र पानी पिएर खोल र बोतल सडकमा फयाँकेर चाँही हिडेको देख्नुपरेन ।
हरेक वर्ष वतावरण दिवस मनाउन भनेर स्थानीय तह, प्रदेश र संघीय सरकारले बजेट खर्च गर्ने गरेको छ । तर दिवसलाई व्यावहारिक कसरी बनाउने भन्नेबारे खासै चासो दिइएको पाइदैन । केही बर्ष अघिको कुरा हो कोशी प्रदेशको वतावरण मन्त्रालयले विराटनगरमा विश्ववतावरण दिवस भव्य रुपले मनायो । मन्त्री जगदीश कुसियतसहित सय भन्दा बढीले नयाँ ब्राण्डेड साइकल कुदाएर विराटनगर परिक्रमा गरे । तर त्यसपछि उनीहरु कसैले पनि कहिल्यै साइकल कुदाएनन् । मन्त्री कुसैतले त कोरोनाकाल भएकै बेला आफूले चढ्दै आएको स्कारपियो जीप ओहोदा अनुसार सुहाएन भन्दै सवा दुई करोडको लक्जरी गाडी नै खरिद गरेर चढे ।
वतावरण दिवसका दिन देशभरि प्रसस्त वृक्षारोपण गरिन्छ । नेता, मन्त्री, जनप्रतिनिधि अतिथि बन्छन् । ताली बजाइन्छ र भाषण गरिन्छ । तर रोपेका विरुवा हुर्काउन भने कसैले कहिल्यै चासो दिदैनन् । वृक्षारोपणमा गरिएको खर्च देखावटीले गर्दा बालुमा पानी झैं हुन्छ ।के हामी विश्वमा सबैभन्दा हानिकारक प्रदुषण मानिएको प्लाष्टिकको प्रयोगलाई साँच्चै निण्न्त्रण गरेर वतावरण शुद्ध बनाउन चाहन्छौ ? त्यसो भए हामी आफैंले आफूबाट किन सुरु गर्दैनौं ? पूर्ण नभएपनि सुरुआत त गर्न सकिन्छ नि ! सबैभन्दा पहिले सरकारी निकाय त्यसपछि सरोकारवाला संघसंस्था र अभियान्ताहरु अनि आम नागरिक समाजले प्लाष्टिक प्रयोग गर्दिन भन्ने अठोट लिनुपर्छ । सरकारी सबै निकाय र कर्मचारीहरुले प्लाष्टिको प्रयोग गर्न छाड्नुपर्छ । कार्यक्रमहरु गर्दा पानीका बोतल मञ्च र टेवलमा सजाउने चलन हटाइनुपर्छ । आप्mनै देशमा उत्पादन भएका माटा वा धातुका गिलास र जगहरुबाट पानी पिउने बानी बसाल्नुपर्छ । त्यो पनि गर्न नसकेमा कार्यालय वा कार्यक्रम हलमा अलग्गै जार र गिलास राखेर आफंै गएर पानी पिउने बानी बसाल्नुपर्छ । त्यसले आफूलाई स्वावलम्बी पनि बनाउँछ ।
यसैगरी सार्वजनिक स्थानहरु हेटल, मोटल, सभाहलहरुमा आयोजना हुने कार्यक्रमहरुमा पनि प्लाष्टिकको बोतल प्रयोग गर्ने चलनलाई निरुत्साहित गर्नुपर्छ । प्लाष्टिक प्रयोग नहुने भएमात्र आउँछु भन्ने आँट मन्त्रीहरुले गर्नुपर्छ । यसमा आम नागरिकको भूमिका पनि उत्तिकै छ । हामीले आफ्नो घर परिवारमा पनि सकेसम्म प्लाष्टिका सामग्री प्रयोग गर्ने चलन हटाउदै लानुपर्छ । गाउँघर शहर बजारका टोलहरुमा जवाभावी प्लाष्टिक प्याँक्नेहरुलाई खबरदारी गर्नुपर्छ । यो पंक्तिकार पर्यटकिय जिल्ला इलाम घुमफिर गर्न गएको थियो । त्यहाँ पानी पिएर प्लास्टिकको बोतल सडकमा फयाँक्दा जो कोहीले किन फयाँकेको भनेर प्रश्न गर्ने र उठाउन लगाउँदा रहेछन् । आहा ! क्या गज्जब । हाम्रो विराटनगर पनि यस्तै भैदिए ।
नियमनकारी निकायहरुले वर्षमा एक दिन दिवस मनाएर मात्र हुँदैन । जथाभावी प्लास्टिक प्रयोग गर्ने र फयाँक्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ । कानुन नभए कोशी सरकारले मात्र हैन महानगरपालिकाले समेत नयाँ कानुन नै निर्माण गर्न सक्छ । जसरी सार्वजनिक स्थानहरुमा चुरोट र रक्सी सेवन गर्न पाइदैन त्यसैगरी प्लाष्टिक प्रयोग र व्यावस्थापनको हकमा पनि कानुन कडाइका साथ कार्यान्वयन गराउनु पर्छ ।
प्रयोग गर्न सजिलो भएकैले पुँजावादी उत्पादनको जालमा फँसेर फुरुक्क हुँदै सरकारले प्लास्टिक प्रयोग गर्न उक्साएका हो । अहिले बल्ल घैंटोमा घाम लाग्दैछ र प्लाष्टिक प्रदुषण हानिकारक छ नियन्त्रण गर्नुपर्छ भनेर भनिरहेको छ । जेहोस् ढिलै भएपनि सरकारको होस चाँही खुलेको छ । पछि पछुताउनु भन्दा समय छँदै व्यवहारिक अभियान थाल्नु उत्तम हुन्छ ।
प्लास्टिककै कारणले हो हाम्रो सनपाट खेती चौपट भएको । मौलिक घरेलु झोलाका उद्योगहरु लोप भएको । आप्mनै देशको कच्चा पर्दाथले उत्पादन हुने घरेलु कपडा उद्योगहरु टाटपल्टेको । कागज उद्योगहरु धरासायी भएको र तामा, सिल्भर, स्टिल उद्योगहरु माटाका भाँडाकुडा बनाउने सीप र उद्योग धरासायी बनेको । यति मात्र हैन प्लास्टिककै कारणले हो साइनबोर्ड र व्यानर पेन्टरहरु विस्थापित बनेका र हाम्रो उर्वरा जमिनको उर्वराशक्ति घटर्दै गएको । प्लाष्टिकले गर्दा ढलनाला जाम हुने, आगोको जोखिम बढनेदेखि पानीदेखि वातावरणसमेत प्रदुषण भैरहेको छ ।
यसैले देखावटीका लागि हैन कुनै पनि दिवसका उदेश्य पूरा गराउन सरकार, संघसंस्था र आम नागरिकहरु व्यवहारिक रुपमा सचेत हुनैपर्छ । नत्र वर्षमा एक दिन गरिने दिवसहरु मात्र तामझाम र नामका लागि मात्रै सीमित भइरहनेछन् ।