ओली मोरङ आउँदा पूर्वराष्ट्रपति भण्डारी झापामा

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा पुगेकी छिन् । आफू राजनीतिमा सक्रिय नै रहेको प्रतिक्रिया दिएको भोलिपल्ट पूर्वराष्ट्रपति भण्डारी ओलीको गृहजिल्ला झापा पुगेकी हुन् ।

आजदेखि शुरू हुने कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्न भण्डारी झापा पुगेकी हुन् । एमालेको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको प्रदर्शनीको उद्घाटन गर्न उनी झापामा आएकी हुन् । प्रदर्शनी देवी माविं हुने छ ।
भण्डारीले आजै नारी सञ्चार गृहले आयोजना गर्ने एक कार्यक्रममा पनि सहभागिता जनाउने कार्यतालिका रहेको नेताहरूले बताएका छन् ।
भण्डारी झापा पुग्दा प्रधानमन्त्री ओली भने आज मोरङ आउँदै छन् । प्रधानमन्त्री ओलीले शनिबार मोरङको कटहरी गाउँपालिका –२ हल्दीबारीमा निर्माण भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार मात्र आफू राजनीतिमा सक्रिय नै रहेको बताएकी थिइन् । विराटनगरमा शुक्रबारबाट शुरू भएको उपप्रमुखहरूको राष्ट्रिय भेलालाई सम्बोधनपछि कार्यक्रम स्थलबाट बाहिरिने क्रममा उनले यस्तो बताएकी थिइन् ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा फर्किएको प्रसंग उद्धृत गर्दै पत्रकारले सोधेको प्रश्नमा उनले आफू पनि राजनीतिमा सक्रिय नै रहेको बताएकी थिइन् ।

शनिबार, २५ जेठ, २०८२, बिहानको १०:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर