प्रधानमन्त्री ओलीले आज जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन गर्ने

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा निर्मित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको आज उद्घाटन हुँदैछ । दुई अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको २०० शैय्या क्षमताको अस्पतालको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका हुन् ।

जीवन विकास समाजका संस्थापकसमेत रहेका योगेन्द्र मण्डल अस्पतालका अध्यक्ष हुन् । उनी मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य पनि हुन् । मण्डलले एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन जितेका थिए ।

अस्पताल अध्यक्ष मण्डलका अनुसार यहाँ अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सकमार्फत आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकहरूबाट दैनिक ओपीडी सेवा, निर्मल तथा पेनलेस डेलिभरी सेवा, जेनेरल तथा दुरबिनबाट सबै किसिमको अप्रेशन सेवा, बालरोग उपचार र डायलासिस सेवाहरू सञ्चालन हुनेछ ।अस्पतालमा हाल २५ शैय्याको आइसीयू, ९ शैय्याको एनआइसीयू १० शैय्याको सीसीयू बेड रहेको छ । दुई दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकसहित २०० जनशक्ति कार्यरत रहेको मण्डलले जानकारी दिए ।

पाँच सय शैय्यासम्म पुर्‍याएर मेडिकल कलेज सञ्चालन गर्ने तयारीका साथ सामुदायिक अस्पताल स्थापना गरिएको उनले बताए । अस्पताल सञ्चालनपछि एमबीबीएस, नर्सिङ, फार्मेसी, मेडिकल प्रयोगशाला, फिजियोथेरापी, रेडियोलोजीमा स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने योजना छ ।

आठ तलाको अत्याधुनिक भवनमा तीन ब्लकमा अस्पताल तथा टेक्निकल एजुकेशन सेन्टर रहनेछ । अस्पतालको संरचना बाल, महिला, अपाङ्ग र अशक्तमैत्री बनाइएको छ ।

मण्डलले ओलीलाई बोलाएपछि एमालेमा जाने फर्कने चर्चा समेत रहेको छ । तथापि मण्डलले देशको कार्यकारी प्रमुख भएकाले प्रधानमन्त्री ओलीलाई उद्घाटनका लागि बोलाएको प्रष्टीकरण दिएका छन् । उनले शीर्ष दलका सबै नेतालाई बोलाएर अस्पताल देखाउनेसमेत बताए ।

शनिबार, २५ जेठ, २०८२, बिहानको ०९:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर