विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राजनीतिमा सक्रिय रहेको स्पष्ट पारेकी छिन्। विराटनगरमा आजदेखी सुरु भएको उप –प्रमुखह तथा उपाध्यक्षहरुको राष्ट्रिय भेलालाई सम्बोधन गरेपछि कार्यक्रम स्थलबाट बाहिरिने क्रममा उनले पत्रकारहरूसँग यस्तो बताएकी हुन्।
पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन सक्रिय राजनीतिमा आइसकेपछि उनको राजनीतिक भविष्यको बारेमा सोधिएको प्रश्नमा भण्डारीले ‘म अहिले पनि सक्रिय राजनीतिमा छु’ भनेर जवाफ दिइन् ।एमालेको अध्यक्ष बन्ने हल्लाको बारेमा सोधिएको प्रश्नमा भने उनले त्यसको पनि समय आउला, अनि भनौला भन्ने जबाफ मात्रै दिइना् ।
राष्ट्रिय भेलामा बोल्दै भण्डारीले गठबन्धनका नाममा राजनीतिक दलहरूले महिलाहरूको प्रतिनिधित्व घटाएको गुनासो गरिन्। उनले महिलाको प्रतिनिधित्व घट्ने विषयमा दलहरूले गम्भीर ध्यान दिनुपर्ने सुझाव दिइन्।
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलका कार्यकर्ता र जनप्रतिनिधिहरूको ध्यान सुशासन र विकासतर्फ जानुपर्ने बताइन्।
‘मुलुकमा सुशासन र उत्तरदायित्वको खोजी भइरहेको छ। यो कार्य पूरा गर्न महिला जनप्रतिनिधिहरूले भूमिका खेल्नुपर्छ, उनले भनिन्।भण्डारीले अहिलेको संविधानले महिलाको सहभागिता मात्रै हरेक तहमा नगराएर नेतृत्वको विकास समेत गराएको बताइन्। उनले महिला जनप्रतिनिधिहरूले भोग्ने समस्याहरूको बारेमा थाहा पाएको समेत बताइन्।