विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यो पटकको कोशी प्रदेश भ्रमणले आफ्नो थप चर्चा हुने बताएकी छन् । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले अघिल्लो अघिल्लो भ्रमणभन्दा यो पटक थप चर्चा हुने बताएकी हुन् ।
यसअघि विराटनगर आएर करिब एक साता बसेकी भण्डारीले राजनीतिक भेटघाट गरेका थिइन् । नेकपा एमालेको नेतृत्वमा आउने प्रयासमा रहेको चर्चाबीच उनले एमालेका नेता तथा कार्यकर्तासँग गरेको भेटले एमालेको नेतृत्व नै तरंगित भएको थियो ।
भण्डारीको भ्रमणपछि भएको एमाले मोरङ र विराटनगर महानगरको अधिवेशनमा अध्यक्ष केपी ओली इतर पक्षले जित निकालेको थियो । विजयी टिमलाई भण्डारीको साथ रहेको चर्चा एमालेभित्र छ ।
यो पटक स्थानीय पालिकाका उपप्रमुखहरूको सम्मेलनको लागि आएकी भण्डारीले थप चर्चा हुने बताएर राजनीतिक संक्रियाको झल्को दिएकी छन् । ‘यो पटकको विराटनगर बसाइको थप चर्चा हुनेछ, देशभरिका उपप्रमुख तथा उपाध्यक्षहरूको सम्मेलनमा सहभागी हुन आएको छु,’ भण्डारीले भनिन्, ‘पहिलाको भन्दा यो पटक बढी चर्चा हुन्छ नै, हुनुपर्छ ।’
शुक्रबार विराटनगरमा सुरु हुने पालिका उपाध्यक्ष र उपप्रमुखहरुको सम्मेलनको प्रमुख अतिथि भण्डारी छन् । भण्डारीले आफ्नो चीन भ्रमण सफल भएको बताउँदै कम्युनिष्ट एकताको लागि चिनको सन्देशबारे सोधिएको प्रश्नमा त्यो हल्ला मात्र भएको दावी गरिन् । ‘म एउटा कार्यक्रमको सिलसिलामा चीन गएको थिएँ । कार्यक्रममा सहभागी भएर फर्किएँ’ उनले भनिन्, ‘बाहिर के के हल्ला हुन्छन् त्यो त मलाई थाहा भएन ।’
भण्डारीलाई एमाले उपाध्यक्ष गुरु बराल, प्रदेश इञ्चार्ज शेरधन राई, नेता विनोद ढकालले विराटनगर विमानस्थलमा स्वागत गरेका थिए । उनीहरु सबै भण्डारी निकट नेताको रुपमा चिनिन्छन् । ढकाल खुलेरै आगामी महाधिवेशनबाट पार्टीको नेतृत्वमा भण्डारीलाई ल्याउन लागेका छन् भने बराल र राई खुलेर बोल्न नसकेको एमाले कार्यकर्ताहरु बताउँछन् ।
शुक्रबार विराटनगरको कार्यक्रमपछि भण्डारी झापा जाने २ दिन नेता तथा कार्यकर्ता भेट्ने योजना रहेको निकट स्रोतले जनाएको छ । उनी २४ गते झापामा प्रविधिसँग बालबालिका कार्यक्रममा सहभागी हुनेछिन् । २५ गते झापामा नै महिलाहरूले आयोजना गर्ने एक कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किने औपचिारक कार्यतालिका छ ।