नेकपा (एस) विराटनगरले बुझाइयो महानगरपालिकालाइ ज्ञापनपत्र

विराटनगर । नेकपा (एकीकृत समाजवादी) विराटनगर महानगर कमिटीले विराटनगर महानगरपालिकालाईे ज्ञापनपत्र बुझाएको छ ।

मेयर नागशे कोइराला र उपमेयर शिल्पा निरला कार्कीलाई ज्ञापन पत्र बुझाइएको हो । ज्ञापनपत्रमार्फत पार्टीले महानगर क्षेत्रभित्र बढ्दो जनघनत्व, अस्तव्यस्त पूर्वाधार, कमजोर सेवा प्रवाह र योजनाविहीन विकासप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । सडक, ढल, पानी, ट्राफिक व्यवस्थापन, सार्वजनिक यातायात, शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, व्यापार र सांस्कृतिक सम्पदाका विषयमा गहिरो ध्यान दिन महानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

पार्टीले विराटनगरका सडकहरू खाल्डाखुल्डीले भरिएका, अधिकांश क्षेत्रमा वर्षामा पानी जम्ने, फुटपाथ नहुँदा पैदल यात्रुहरू जोखिममा पर्ने अवस्थाको अन्त्य गर्न माग गरेको छ । साथै, ट्राफिक व्यवस्था अस्तव्यस्त हुँदा दैनिक दुर्घटनाको जोखिम बढेको भन्दै वैज्ञानिक र सुरक्षित व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।

शिक्षा तथा स्वास्थ्यमा समेत सुधारको माग गर्दै पार्टीले सरकारी विद्यालयहरूको गुणस्तर खस्कँदो अवस्थामा रहेको, स्वास्थ्य संस्थाहरूमा आवश्यक सेवा, औषधि र जनशक्ति अभाव देखिएको भन्दै यथाशीघ्र सुधारका लागि आग्रह गरेको छ ।
बेरोजगारी हटाउन युवा लक्षित तालिम, स्वरोजगार कार्यक्रम, सीपमूलक प्रशिक्षण र सहुलियत ऋण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि पार्टीले औंल्याएको छ । होटल, उद्योग तथा व्यवसायको प्रवद्र्धनका लागि कर प्रणाली सरल बनाउनुपर्ने, पर्यटकीय सम्भावना भएका स्थानहरूको पहिचान गरी पूर्वाधार विकास गर्नुपर्ने उल्लेख गरिएको छ ।

विराटनगरको पुरानो पहिचान बोकेका सम्पदाहरू जोगाउन संरक्षण योजना बनाउनु पर्ने, सार्वजनिक शौचालय, पार्क, पशु बजार, पुस्तकालय जस्ता पूर्वाधार विस्तार गर्नु पर्ने र डिजिटल प्रविधिमार्फत नगर सेवा प्रवाह चुस्त बनाउनुपर्ने विषय पनि ज्ञापनपत्रमा समेटिएको छ ।

अध्यक्ष विरेन्द यादवले ज्ञापनपत्र बुझाउँदै पार्टीले ज्ञापनपत्रमार्फत प्रस्तुत गरेका मागहरू तत्काल सम्वोधन गरी जनताको विश्वास जित्न महानगरलाई आग्रह गरेका छन् । ज्ञापन पत्र बुझाउन पोलिब्युरो सदस्य महेश रेग्मी लगायतका तिन दर्जन बढी नेता कार्यकर्ता महानगर पुगेका थिए । ज्ञापन पत्र बुझ्दै मेयर नागेश कोइरालाले आगामी आर्थिक वर्षको बजेट बनाउन सहज हुने बताए ।

बिहिबार, २३ जेठ, २०८२, रातीको ०८:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर