विराटनगर । विपद्जन्य घटनाको पूर्वअभ्यास गर्ने क्रममा कोशी ब्यारेजबाट दुई गोताखोर बेपत्ता भएका छन् ।
बिहीबार दिउँसो कोशी ब्यारेजको सप्तरी क्षेत्रमा पूर्वअभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका हुन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार मनसुनको समयमा हुन सक्ने विपद्जन्य घटनाको पूर्वअभ्यास कार्यक्रम राखिएको थियो । सोही कार्यक्रमको तयारीका लागि अभ्यास गर्ने क्रममा गोताखोर बेपत्ता भएका हुन् ।
उद्धार अभ्यासका लागि गएका सशस्त्र प्रहरी जवानहरु सुरज साउद र हरदेव राजवंशीलाई सप्तकोशीले बगाएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपद्मा परेकाहरूलाई उद्धार गर्नका लागि उद्धार अभ्यास गराएको थियो ।
विपद् उद्धारको अभ्यास गरिरहेका बेला घटना भएको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार विपद्मा परेका व्यक्तिहरुलाई कसरी उद्धार गर्ने भन्ने अभ्यास चलिरहेका बेला घटना भएको हो ।
नदीमा बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ । विभिन्न युनिटबाट प्रहरी परिचालन गरेर खोजी जारी राखिएको एसपी खतिवडाले बताए । घटनास्थलमा सप्तरी र सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु पनि पुगेका छन् ।