
प्रभात घिमिरे
आज जुन ५ अर्थात विश्व वातावरण दिवस । यस दिनले हामीलाई बिग्रदै गएको वातावरणलाई कसरी जोगाउने हो भन्ने चुनौती थपिदिन्छ । नेपाल जस्ता हिमाली र विकासशील मुलुकका लागि यो चुनौती त्यसै पनि गम्भीर छ किनभने हामीले जलवायु परिवर्तनको मार सबैभन्दा बढी भोग्नुपरेको छ । यद्यपि यसमा हाम्रो योगदान भने नगन्य मात्र छ ।
नेपालमा जलवायु परिवर्तनका प्रभावहरू स्पष्ट देखिन थालेका छन् । हिमालका हिउँ तीव्र गतिमा पग्लिरहेका छन्, जसले पानीको स्रोतमा खतरा ल्याएको छ । ग्लेसियर पग्लिँदा पहिले त बाढीको खतरा बढ्छ र पछि खडेरीको समस्या हुन्छ । कृषि उत्पादनमा अनियमितता आएको छ – कहिले अकालिक वर्षा, कहिले लामो खडेरी । यसले खाद्य सुरक्षामा प्रत्यक्ष असर पारेको छ ।
वायु प्रदूषण, विशेषगरी काठमाडौं उपत्यकामा, चिन्ताजनक स्थितिमा पुगेको छ । वन क्षेत्र घट्दै गएको छ र जैविक विविधतामा खतरा बढेको छ । नदी र जलस्रोतहरू प्रदूषित हुँदै गएका छन् ।नेपालले आफ्नो वन क्षेत्र विस्तार गर्ने नीति अपनाउनुपर्छ । सामुदायिक वन व्यवस्थापनलाई थप बलियो बनाई स्थानीय समुदायलाई वन संरक्षणमा सक्रिय सहभागी बनाउनुपर्छ ।
नेपालको जलविद्युत् क्षमताको पूर्ण उपयोग गरी सौर्य र वायु ऊर्जामा लगानी बढाउनुपर्छ। यसले जीवाश्म इन्धनमा निर्भरता घटाउन सक्छ, त्यस तर्फ विशेष ध्यान केन्द्रित गर्नुपर्छ ।
जैविक खेती, बीउ संरक्षण र पानी मितव्ययी सिँचाइ प्रणालीको विकास गर्नुपर्छ । जलवायु प्रतिरोधी बाली किसिमको विकास र प्रयोगमा जोड दिनुपर्छ ।ती समस्याहरु समाधान गर्न सरकारले नीतिगत सुधारमा विशेष ध्यान दिनुपर्छ । सरकारले वातावरणीय प्रभाव मूल्याङ्कनलाई कडाइका साथ लागू गर्नुपर्छ । प्रदूषण नियन्त्रणका लागि कानुन बनाउने मात्र नभएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन दिनुपर्छ ।
जलवायु परिवर्तनमा विकसित राष्ट्रहरूको ऐतिहासिक जिम्मेवारीलाई बोध गराउने भूमिका नेपाल सरकारले खेल्नुपर्छ जुन आजसम्म नसकेको काम हो । हामीले उनीहरूबाट हरित जलवायु कोषमार्फत आर्थिक र प्राविधिक सहयोग माग गर्नुपर्छ ।
यसबाहेक वातावरण संरक्षणमा जनसहभागिता बढाउने तर्फ सरकारले ध्यान दिनुपर्छ । शिक्षा क्षेत्रमा वातावरणीय शिक्षालाई अनिवार्य बनाउनुपर्छ । प्लास्टिकको प्रयोगमा कमी ल्याउने, फोहोर व्यवस्थापन आदि कार्यक्रमहरुलाई विशेष जोड दिनुपर्छ ।
स्थानीय तहदेखि संघीय तहसम्म समन्वयित प्रयास गरेमा मात्र वातावरण संरक्षणमा सफलता मिल्न सक्छ । यो काम भोलिका लागि साँचेर राख्न सकिदैन भन्ने तथ्य हामीले हरेक व्यक्तिलाई बुझाउन सक्नुपर्छ अनिमात्र यो दिवस सार्थक बन्न सक्छ ।