कानेपोखरीमा प्राकृतिक स्रोतको दोहन

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाभित्रका खोलामा प्राकृतिक स्रोतहरूको अवैध उत्खनन हुने गरेको पाइएको छ ।गाउँपालिकाको स्वीकृति विना ठेक्का प्रक्रिया नपु¥याई स्काइभेटर र जेसीबीलगायतका उपकरणहरु प्रयोग गरी नदीजन्य स्रोतको व्यापक दोहन भएको पाइएको हो ।

गाउँपालिकाले नियन्त्रणमा लिएको जेसीबीमार्फत यो गैरकानुनी गतिविधि बाहिर आएको छ । कानेपोखरी ६ स्थित सुकुना खोलाबाट अवैध उत्खननमा प्रयोग भएको को १ क २००० नम्बरको जेसीबी गाउँपालिकाको निर्देशनमा नियन्त्रणमा लिइएको गाउँपालिकाकी अध्यक्ष राजमती इङनामले जानकारी दिइन् । उनका अनुसार कुनै पनि ठेक्का सम्झौता नलिएको अवस्थामा पनि नदीजन्य सामग्रीको उत्खनन गरिएको भेटिएको छ । यस्ता कार्यमा सवारी साधन प्रयोग गर्न नपाइने स्पष्ट कानुनी मापदण्ड हुँदाहुँदै जेसीबी प्रयोग गरी नदी दोहन भइरहेको प्रमाणित भएको छ ।

कानेपोखरी गाउँपालिकाले स्काइभेटर नियन्त्रणमा लिएसँगै प्रदेश सरकारद्वारा निर्मित कानुन अनुसार आवश्यक कारबाही अघि बढाइने अध्यक्ष इङनामले बताएकी छन् ।स्थानीय स्रोतका अनुसार सुकुना खोलामा भइरहेको अवैध उत्खनन कांग्रेसका स्थानीय नेता सन्तोष फुयलको संरक्षणमा भइरहेको छ । फुयल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको पक्षधर मानिन्छन् । उत्खनन कार्यमा प्रयोग भएको जेसीबी युवराज खड्काको रहेको छ । उनी कांग्रेसका कार्यकर्ता हुन् । यो संगठित अभ्यासले स्थानीय प्रशासन, राजनीतिज्ञ र व्यवसायीबीचको मिलेमतो प्रस्ट पारेको छ ।

स्थानीय बासिन्दाका अनुसार, राति र दिन दुबै समयमा सुकुना खोलाबाट जेसीबी प्रयोग गरी उत्खनन हुने गर्दछ । उत्खनन गरेर ल्याइएको नदीजन्य सामग्री, ढुङ्गा, गिटी, बालुवा र भरौट – कानेपोखरी ६ स्थित रमाइलो बजारदेखि उत्तर फुयलको खाली जग्गामा संकलन गरिएको छ । हालसम्म त्यहाँ ४० देखि ५० ट्रकसम्म सामग्री जम्मा भएको बताइएको छ । खोलाबाट अवैध रूपमा निकालिएको बालुवा र गिटी स्थानीय बजारमा महँगो मुल्यमा विक्री भइरहेको छ । एक ट्र्याक्टर सामग्रीको मूल्य ३ हजारदेखि ७ हजार रुपैयाँसम्म लिइने गरिएको स्रोतले जनाएको छ । यसरी सरकारलाई कुनै पनि राजस्व नतिरी अवैध उत्खननबाट आर्थिक लाभ लिने कार्यले आर्थिक अनियमितताको सृजना मात्र होइन, खोलाको पारिस्थितिक प्रणालीमा पनि गम्भीर असर पारेको छ ।

चिसाङ र डाँस खोलामा पनि अवैध उत्खनन

सुकुना खोलामात्र होइन, कानेपोखरी गाउँपालिका भित्रका अन्य प्रमुख खोलाहरू चिसाङ खोला र डाँस खोलामा समेत यस्तै प्रकारको अवैध उत्खनन भइरहेको छ । यसअघि पनि गाउँपालिकाले डाँस खोला र चिसाङ खोलाबाट अवैध उत्खननमा प्रयोग भएको स्काइभेटर र जेसीबी नियन्त्रणमा लिएको थियो । तर निरन्तर रुपमा यस्ता क्रियाकलाप बढ्दै गएको देखिन्छ । जसले स्थानीय सरकारको निगरानी र कार्यान्वयन क्षमतामाथि प्रश्न खडा गरेको छ ।

प्रदेश सरकारले खोलाबाट उत्खनन गर्दा पालना गर्नुपर्ने स्पष्ट मापदण्डहरू तोकेको छ । ती मापदण्डअनुसार कुनै पनि स्थानबाट खोलाको स्रोत दोहन गर्नुअघि पर्यावरणीय प्रभाव मूल्याङ्कन, स्थानीय तहको स्वीकृति, सम्बन्धित मन्त्रालयको अनुमति, र आवश्यक ठेक्का सम्झौता हुनु आवश्यक छ । साथै, नदीजन्य उत्खननमा उपकरण प्रयोग गर्न कानुनी रुपमा रोक लगाइएको छ । तर, कानेपोखरीमा यी सबै नियमहरूको स्पष्ट उल्लंघन भएको छ ।

खोलाको प्राकृतिक स्रोतको यस्तो अन्धाधुन्ध दोहनले स्थानीय वातावरणमा दीर्घकालीन असर पार्ने निश्चित छ । अवैध उत्खननका कारण खोलाको प्रवाह प्रणाली परिवर्तन हुन सक्ने, भूक्षय बढ्ने, जलाधार क्षेत्र कमजोर हुने, र बाढी तथा डुबानको जोखिम पनि बढ्ने स्थानीय बताउँछन् ।

यस विषयमा स्थानीय नेता सन्तोष फुयलले भने आफ्नो कुनै पनि संलग्न भएको दाबी गरेका छन् । उनले आफ्नो निजी जग्गामा घर बनाउन भरौट राखिएको बताउँदै सवारी साधन खोला लैजान नदिने निर्देशन दिएको तर काम गर्नेहरूले उल्लंघन गरेको बताएका छन् । ‘दुःख पाएको दिदीको घर बनाउन भरौट जिक्न गएको रहेछन्,’ उनले भने, ‘मैले सवारी साधन खोलामा नलैजानु भनेको थिएँ,’ उनले भने । अहिले गाउँपालिकाले नियन्त्रणमा लिएको जेसीबीलाई कानुनी प्रक्रियाअनुसार अगाडि बढ्न दिन आफू तयार रहेको उनले बताए ।

बुधबार, २२ जेठ, २०८२, दिउँसोको १२:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर