विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको टंकी चोकपूर्व अपारदर्शी ढंगबाट धमाधम एकतर्फी नाला निर्माण सुरु गरिएको छ । बुढीगंगा १ को टंकीचोकदेखि पूर्व करैया बस्ती हँुदै सशस्त्र प्रहरी क्याम्पतर्फ जाने दुई किलोमिटर कच्ची बाटोमा कालोपत्रे सडक निर्माण गर्ने ठेक्कामा आपारदर्शी तरिकाबाट एकतर्फी मात्र नाला निर्माण भैरहेको हो ।
सडक विभाग डिभिजन कार्यालय विराटनगर मार्फत ठेकेदार कम्पनीहरु विश्ववैभव र खालिद कन्ट्रक्सनले सडक निर्माणका लागि सम्झौता गरेर निर्माण सुरु गरेपनि काम भने एकतर्फी गहिरो नालामात्र निर्माण गरिहेका छन् ।स्थानीयका अनुसार टंकीचोकदेखि पूर्व सशस्त्र क्याम्प जाने सडकको उत्तरतर्फ वडाध्यक्ष सोमराज काप्mले सहित केही पहुँचवाला व्यक्तिहरुको निजी जमिन डुवान पर्दै आएको छ । यसैले टंकीचोकदेखिको बाढीको पानी दुई किलोमिटर पूर्वरहेको खदरा खोला मार्फत सिँघिया नदीमा मिसाएर जमिन उकास गरेर घडेरी प्लटिंङ गर्न सूचना बोर्ड नै नराखी बाटोको उत्तर किनारतर्फ मात्र धमाधम गहिरो नाला निर्माण गरिएको हो ।
उक्त कच्ची सडक खण्डमा पहिले विश्ववैभव कम्पनीले पाँच सय मिटर सडक निर्माणका लागि एक करोडमा ठेक्का सम्झौता गरेर सूचना बोर्ड नै नराखी एकतर्फी मात्र नाला निर्माण गरेको थियो । हाल दुई किलोमिटर सडक निर्माणकै लागि खालिद कन्ट्रक्सनले दुई किलोमिटर सडकमा दुईतर्फ नाला सहित कालोपत्रे निर्माण गर्न ठेक्का पाएको छ । तर खालिदले उक्त निर्माण कार्य विश्वभैभव कम्पनी मार्फत पालिकाको आग्रह अनुसार एकतर्फी गहिरो नाला मात्रै निर्माण गराइरहेको छ ।
कुनै पनि निर्माण कार्य सूरु गर्नुअघि नै निर्माण स्थलमा निर्माण कम्पनीको नाम ठेगाना र लागत रकम, निर्माणको प्रकार सहित योजना सुरु भएको र सम्पन्न हुने अवधि खुलाएर अनिवार्य सूचना बोर्ड राख्नुपर्छ । तर त्यहाँ सडक कालोपत्रे निर्माण कार्य भनिए पनि बाढीको पानी उकास गर्न गहिरो एकतर्फी नाला मात्र निर्माण भैरहेको छ ।
सडक निर्माणका लागि पहिले आफैले सम्झौता गरेर हाल पेटी ठेकेदारमार्फत नाला निर्माण गरिरहेका विश्ववैभवका प्रतिनिधि तपेश्वर साहले सूचना बोर्ड राख्ने काम सम्बन्धित कार्यालय वा सम्झौता गर्ने कम्पनीको भएको बताए ।
सडक विभाग डिभिजन कार्यालय विराटनगरका सिभिल इन्जिनियर तथा साइड इन्र्चाज संजिव गुप्ताले निर्माण कार्य सुरु गर्नु अघि नै सूचना बोर्ड राख्नुपर्ने नियम रहेको बताए । इन्जिनियर गुप्ताले भने, ‘नराखेको भए बुझेर तुरुन्त राख्न लगाउँछौ ।’
टंकीचौकदेखि पूर्व सशस्त्र प्रहरी क्याम्पसम्म सडक निर्माणको वहाना बनाएर दुई किलोमिटर पूर्वमा रहेको खदरा खोलासम्म बुढीगंगा गाउँपालिकाले बाढीको पानी मिसाउन पहिले एकतर्फी नाला निर्माण गराइरहेको हो । बडा नं १ कार्यालयले पानी निकासका लागि खदरा खोलामा विना डिपिआर ढुंगाको तारजालीसहितको कल्भर्ट पनि निर्माण गरिसकेको छ । यता टंकीचौक उत्तरदेखी बगेर आउने बाढीको पानी सडक निर्माण गर्दा नियम अनुसार आउटलेट निर्माण गरेर म्यानेजमेन्ट गर्नुपर्नेमा एकतर्फी रुपमा नाला मात्र निर्माण गरेर खदरा र सिँघिया नदी तटीय क्षेत्रमा बसोवास गर्नेहरुलाई जोखिममा पार्ने खोजेको भन्दै स्थानीयले उत्प्रेषण परमादेश र निषेधाज्ञा माग गर्दै दर्ता गरको मुद्दा उच्च अदालत विराटनगरमा विचराधीन रहेको छ ।