झोले अभियान अर्को एउटा सनक

 गोकुल पराजुली

अहिले नेपालमा ‘म झोले हुँ’ भन्ने पोष्टर ट्रेण्डिङमा छ । विशेष गरेर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले म झोले हुँ भन्ने पोष्टर सामाजिक सञ्जालमा पोष्ट गरेपछि सोमबारदेखि यसले बजार पाइरहेको छ । मंगलबार अपरान्हसम्म आइपुग्दा त्यसको पक्ष विपक्षमा केही आर्टिकलहरू पनि आइसकेका छन् ।

पार्टी अध्यक्ष त्यसमा पनि देशकै प्रधानमन्त्रीले म झोले हुँ भनिसकेपछि पार्टीका कार्यकर्ताहरूका माझमा त्यो विषय सञ्चार हुनुलाई स्वभाविक रूपमै लिनुपर्छ । तर जसरी र जुन रफ्तारमा नेकपा एमालेका कार्यकर्ताहरूले आफूलाई उक्त झोले अभियानमा समाहित गराउनु पर्ने हो त्यसरी भने त्यो अभियान अगाडि जान सकेको देखिँदैन । पार्टी अध्यक्ष मात्र होइन महासचिवदेखि केही प्रभावशाली नेताहरू उक्त अभियानमा सरिक भएका छन् तर नेताहरूकै तह र कार्यकर्ताहरूको तहमा भने उक्त अभियान विभाजित बन्न पुगेको छ ।

प्रधानमन्त्री ओलीले अधिकतर यस्तै सनकका भरमा अभियानहरू सुरुवात गर्ने गर्दछन् । जसलाई बुझ्न, त्यसबाट पर्ने प्रभावहरूको मूल्यांकन गर्न र त्यसमा आफूलाई पनि समाहित गर्न कार्यकर्ताहरूलाई पटक पटक सकस पर्ने गरेको छ । जसले गर्दा ओलीले अगाडि सारेका धेरै विषयहरूबाट अपेक्षित नतिजा आउन सकेको छैन । यो झोले अभियानबाट नेकपा एमालेलाई कस्तो प्रभाव पर्ने हो त्यसका लागि भने केही समय पर्खिनै पर्ने भएको छ ।

यस्तो व्यवहारको पछिल्लो उदाहरण जेठ १५ गतेको घटना हो । झोले अभियान सुरु गर्नुभन्दा केही दिन अगाडि मात्र प्रधानमन्त्री ओलीले नेकपा एमालेका कार्यकर्ताहरूले जेठ १५ गते काठमाडौंका सडकहरू कब्जा गर्नुपर्छ भनेर निर्देशन दिए । पार्टी अध्यक्षको निर्देशनपछि नेताहरू सक्रिय भए र काठमाडौंमा युवाहरूलाई स्वयंसेवकको नाममा अर्धसैन्य तालिम नै दिए । गणतन्त्र दिवसको दिन राजावादीहरूले शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको बेलामा ओलीले उनीहरूको भन्दा ठूलो शक्ति देखाउन चाहेका थिए । त्यसैले उनले पार्टी पङ्क्तिलाई उत्तेजित गराउँदै सेन्टिमेन्टल फर्मान जारी गरेका थिए । समय २०७२–२०७६ को अवधि हुन्थ्यो भने त्यति फर्मान जारी भइसक्दा काठमाडौंको सडकमा राजावादीहरू पस्ने आँट नै गर्दैनथे होलान् । तर त्यसदिन प्रधानमन्त्रीको दल नेकपा एमालेका कार्यकर्ताहरूले उनको फर्मानलाई लत्याइदिए । इतिहासमै सबैभन्दा कमजोर शक्तिसहित एमाले काठमाडौंका सडकमा उपस्थित भयो । त्यो उपस्थिति जसकाविरुद्ध केन्द्रित गराइएको थियो उनीहरूको तुलनामा अत्यन्त न्यून थियो । यसले देशभरका एमाले कार्यकर्ताहरूको मनोबल खस्काइदिएको छ ।

एमाले कार्यकर्ताहरु भन्न थालेका छन् ‘जसरी ओलीले पार्टीलाई एक समय लोकप्रिय बनाएका थिए त्यहि रफ्तारमा अहिले पार्टीलाई ओह्रालो लगाउने काम गरिरहेका छन् ।’ यो कुरामा सत्यता छ । ओलीले विगतको वाहवाहीलाई नै अहिले पनि सम्झिरहेका छन् । तर, समय फेरिएको छ । पटक पटकको उनको दम्भी घोषणाहरू अब जनताले बुझिसकेका छन् । प्रधानमन्त्री ओली गफ गर्ने तर काम नगर्ने योग्यता भएका नेता हुन् भन्ने कुरा अब आम जनतालाई होइन नेकपा एमालेकै निष्ठावान कार्यकर्ताहरूमा मज्जैले परिसकेको छ ।

त्यसैले अहिले उनीहरू ‘म झोले हुँ’ भन्न सकिरहेका छैनन् । किनभने जुन दिन उनीहरूले त्यसो भन्ने छन् लामो समयसम्म त्यसबाट आउने सार्वजनिक आलोचनाको प्रतिवाद गर्नुपर्ने झन्झट व्यहोर्नुपर्छ भन्ने कुरा उनीहरूले बुझेका छन् ।
संविधानविपरीत संसद विघटन गर्दा धेरै एमाले कार्यकर्ताहरूलाई मन परेको थिएन । उनीहरूलाई राम्रोसँग के थाहा थियो भने यो ठिक काम भएन । तर, उनीहरू सार्वजनिकरूपमा उक्त निर्णयको प्रतिवाद गर्न सक्ने अवस्थामा थिएनन् । प्रधानमन्त्रीले गलत गरेका हुन् भन्ने कुरा अदालतले एक पटक होइन दुई दुई पटक पुष्टि गरिदियो तर उनले कहिल्यै पनि त्यसलाई कमजोरीको रूपमा स्वीकार गरेनन् । यसलाई उनीहरूले नेतृत्वको अडानको रूपमा लिएनन् बरु जिद्दीपनको अर्थमा बुझे ।
यस्ता घटनाहरू धेरै भएका छन् । भगवान रामको जन्मस्थल चितवनको अयोध्यापुरी हो भनेर उनले यसै सनको भरमा बोलिदिए । त्यसलाई न कहिल्यै पुष्टि गर्नुपर्यो न त उक्त अभियानले निरन्तरता नै पाउन सक्यो । बरु त्यसले भारतसँगको कूटनीतिक सम्बन्ध नै बिग्रिने तहमा पुग्यो । त्यसैले त भारतमा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै गर्दा हजारौं एमाले कार्यकर्ताहरू उतै पुगेर पर्यटन गरेको फोटाहरू पोष्ट्याए ।

त्यसबाहेक घरघरमा ग्यासको पाइप पुर्याउने कुरालाई महत्वका साथ लिएर प्रचार गरेका एमालेजन विराटनगरको एउटा गौशालाले उत्पादन गरेको गोबर ग्यासको पाइप दुई चार घरमा वितरण गरेको तस्बिर पोष्ट्याउन बाध्य भए । बरु त्यसपछि लगत्तै बनेको सरकारले देशलाई लोडसेडिङ मुक्त बनाउने घोषणा गर्दै घरघरमा ग्यास पाइप होइन घरघरमा इन्डक्शन चुल्हो भन्ने अभियान चलायो ।समुद्रमा पानी जहाज कुदाउने सपना ठिकै भए पनि अहिलेको हाम्रो आर्थिक हैसियत र आवश्यकता त्यो थिएन भन्ने कुरामा उनले ख्याल गरेनन् । जुन कुराको एमाले कार्यकर्ताहरूले खुलेर वकालत कहिल्यै पनि गर्न सकेनन् ।

यस्ता मुडियल कुरा गर्ने पार्टी अध्यक्ष र प्रधानमन्त्रीको बानी बुझेका एमाले कार्यकर्ताहरू पछिल्लो झोले अभियानमा सरिक हुने क्रममा बढो बिचित्रले विभाजित भएका छन् । प्रधानमन्त्री ओलीले पुराना दलहरूमाथि नयाँ भनिने र राजावादी भनिनेहरूको अनावश्यक टर्चरको प्रतिवाद गर्न उक्त अभियान सुरू गरेका हुन् भन्नेमा कुनै दुईमत छैन । एक हिसाबले भन्नुपर्दा त्यो ठिकै कुरा पनि हो ।

जसले आफ्नो विचार, आदर्श कार्यक्रमलाई स्थापित गर्न जीवनभर दर्शनको झोला बोक्यो, त्याग र बलिदानी दियो उसले म मेरो पार्टीको झोले हुँ भन्दा नाक खुम्च्याउनु पर्दैन । तर के त्यो कुरा एउटा पार्टी अध्यक्षको मात्र हो ? पार्टी भनेको उनी एक्लै हुन् ? पार्टी उनको फर्मानबाट मात्र चल्नुपर्ने मान्यता राख्न मिल्छ ?

पक्कै पनि उनले त्यो प्रस्ताव पार्टीको तहगत बैठकमा प्रस्तुत गरेका हुन्थे भने त्यस विषयमा गम्भीर छलफल हुनसक्थ्यो । त्यसबाट व्यवस्थित रणनीति तयार हुनसक्थ्यो । अभियानबाट आउनसक्ने प्रतिक्रिया र त्यसलाई प्रतिवाद गर्ने विधिहरूको विकास हुनसक्थ्यो । त्यसो भएन बरु आफ्नै कार्यकर्ताहरू विभाजित बने ।

यो अभियान एमालेका लागि प्रारम्भमै अनुत्पादक बन्न पुग्यो । नेताले काम गर्दा कमजोरी गर्न सक्छ । त्यसलाई महशुस गर्ने, सच्याउने, जनताका बिचमा गएर गल्ती गरें भन्ने आँट नेतृत्वले गर्नुपर्छ । तर, त्यो गुण प्रधानमन्त्री ओलीमा देखिएन । जसको असर अहिले मैदानमा देखिँदैछ । ओलीको फर्मानहरू कमजोर बन्दा काठमाडौंमा एमाले भन्दा राजावादी बढी देखिएको आलोचना झेल्दै गरेका उनका कार्यकर्ताहरू अब देशभर झोले उपमाबाट परिचित हुने र त्यसको प्रतिवाद गर्न नसक्ने गरी कमजोर बनाउने काम उनले गरेका छन् । वास्तवमा यो अभियान केही हदसम्म ठिक हुँदाहुँदै पनि प्रत्युत्पादक नै बन्ने निश्चित छ ।

बुधबार, २२ जेठ, २०८२

प्रतिक्रिया:

सम्बन्धित खवर