नेप्सेसँगै घट्यो कारोबार रकम

विराटनगर । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिन निरन्तर बढेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो ।

मंगलबार नेप्से परिसूचक ३५.७३ अंक घटेर २६५८.९३ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५३ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ७५ हजार ५०८ पटकको कारोबारमा ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँबराबरको १ करोड ५५ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ३ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन करिब साढे ४ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ६० करोड १५ लाख २ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन युनिभर्सल पावर कम्पनीको ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ४० करोड नाघेको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । कारोबारमा आएको बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३४ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा धेरै घटेको छ भने विकास बैंक, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै घटेको छ ।

मङ्गलबार, २१ जेठ, २०८२, साँझको ०६:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर