मोरङको हिरासतमा रहेका थुनुवाको मृत्यु

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।

अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेका झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मंगलबार उपचारका क्रममा मृत्यु भएको हो ।

उनको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता, डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रहरीले श्रेष्ठविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन जेठ १५ गते अदालतबाट म्याद थप लिएको थियो । त्यसयता उनी हिरासतमा थिए । एक्कासी ज्वरो आउने, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार बिहान ९स्२० बजेतिर उनलाई उपचारका लागि अस्पताल लगिएको डीएसपी जोशीले बताए ।

उनका अनुसार श्रेष्ठको उपचारकै क्रममा ११स्३० बजेतिर मृत्यु भएको हो । हिरासतमै रहेका बेला बारम्बार बिरामी पर्ने गरेपछि यसअघि पनि प्रहरीले उनलाई उपचारका लागि अस्पताल भर्ना गरेको थियो ।

प्रहरीका अनुसार लागूऔषध सेवनकर्ता समेत रहेका श्रेष्ठ लामो समयदेखि परिवारको सम्पर्कमा नरहेको पत्ता लागेको छ । उनी आपराधिक पृष्ठभूमिका व्यक्ति रहेको डीएसपी जोशीले बताए ।

यसअघि श्रेष्ठविरुद्ध विभिन्न प्रहरी कार्यालयबाट ४ पटक मुद्दा चलिसकेको अभिलेख छ । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी, झापाको इलाका प्रहरी कार्यालय दमक, मोरङको इलाका प्रहरी कार्यालय पथरी र जिल्ला प्रहरी कार्यालय मोरङबाट उनीविरुद्ध यसअघि मुद्दा चलिसकेको डीएसपी जोशीले जानकारी दिए ।

उनका अनुसार यसअघि ३ पटक लागूऔषध ऐन र १ पटक अभद्र व्यवहार अन्तर्गतको मुद्दा चलेको थियो । ‘यसअघि ४ पटक मुद्दा चलिसकेको रहेछ । अहिले पाँचौं पटक मुद्दा चलाउन अनुसन्धान जारी रहेका बेला बिरामी परेर श्रेष्ठको मृत्यु भयो,’ जोशीले भने ।

पछिल्लो पटक विराटनगरमै साइकल चोरी गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको थियो । साइकल चोरी गरिरहेको देखेर साइकल धनी पुग्दा हातपात र दुर्व्यवहार गरेको भनेर श्रेष्ठविरुद्ध किटानी जाहेरी परेको थियो ।

मङ्गलबार, २१ जेठ, २०८२, साँझको ०६:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर