जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा २० विद्यार्थी छनौट

विराटनगर । प्याबसन् विराटनगर महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय चित्रकला प्रतियोगिताबाट २० जना विद्यार्थी जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका छन् । विराटनगरमा मंगलबार सम्पन्न प्रतियोगितामा सिनियर तर्फ ११ र जुनियर तर्फ ९ जना गरी जम्मा २० जना विद्यार्थीहरू जेठ २९ गते हुने जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका हुन् ।
प्रतियोगितामा सिनियर समूहतर्फ बुढानीलकण्ठ स्कुलका योगराज साह प्रथम घोषित भए भने जुनियर समूहतर्फ सुम्निमा बोर्डिङ स्कुलकी कृष्टीना राईले प्रथम स्थान हासिल गरिन् ।

सिनियर समूहतर्फ द्वितीय दिल्ली पब्लिक स्कुलकी प्रेरणा पण्डित, तृतीय ग्रेडेड स्कुलकी कृतिका यादव तथा चौथो स्थान एभरेस्ट स्कुलकी रोनी सापकोटाले प्राप्त गरे । यसैगरी जिल्ला स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सिनियर समूहबाट मोडर्न एरा स्कुलकी अंकिता श्रेष्ठ, हेरिटेज स्कुलकी इच्छा बज्राचार्य, पूर्वाञ्चल विद्या सदन स्कुलकी अनिशा राई, डीएभी स्कुलकी सलोनी सोनी, मदरल्याण्ड स्कुलका ओमप्रकाश शर्मा, गौतम बुद्ध स्कुलका आयुष्मान आचार्य तथा बिनायक स्कुलका महावीर कुमार मेहता छनौट भएका छन् ।

जुनियर समूहतर्फ द्वितीय कान्तिपुर स्कुलका बिप्लव दास, तृतीय ग्रीनल्याण्ड स्कुलका आविष्कार कार्की र चौथो हेरिटेज स्कुलका कोभिड कुन्डलिया घोषित भए। यस्तै, जिल्ला स्तरीय चरणमा सहभागी हुने जुनियर विद्यार्थीहरूमध्ये ओडिसी स्कुलकी आयुषा कायुम खान, बिनायक स्कुलकी न्यान्सी कुमारी साह, अपर्ण स्कुलका पेसल पराजुली, बुढानीलकण्ठ स्कुलकी सुश्रीन भट्टराई र शिक्षादीप स्कुलका रोहन साह पनि छनौटमा परे ।

प्रतियोगिताको मूल्याङ्कन ललित कला संगम मोरङका अध्यक्ष प्रकाश चौधरीको नेतृत्वमा भएको थियो। प्रतियोगितामा ३१ विद्यालयका कुल ५८ जना विद्यार्थी सहभागी भएका थिए ।कार्यक्रम संयोजक यादव प्रधानका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूको सिर्जनात्मकता र चित्रकलामा भएको रुचिलाई प्रवर्धन गर्नु थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्राब्सन केन्द्रीय प्राविधिक सल्लाहकार सावित्रा पराजुलीले विद्यार्थीमा रहेको क्षमता उजागर गर्न यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिइन् । प्यावसन विराटनगर महानगर अध्यक्ष अर्जुन श्रेष्ठले चित्रकला जस्तो सिपलाई व्यावसायिक स्तरसम्म पुर्याउन सकिने उल्लेख गर्दै विद्यार्थीहरूलाई जिल्ला स्तरीय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।

कार्यक्रममा प्राब्सन कोशी प्रदेशका कोषाध्यक्ष प्रेमलाला सिंह सुवाल, प्याबसन् मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष विष्णु डंगोललगायतले विजयी विद्यार्थीहरूलाई बधाई तथा आगामी यात्राको सफलताको कामना गरेका थिए । अब आगामी जेठ २९ गते हुने जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा यी २० जना विद्यार्थीहरूले विराटनगरको प्रतिनिधित्व गर्नेछन् ।

मङ्गलबार, २१ जेठ, २०८२, साँझको ०६:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर