विराटनगर । कुकुर बन्ध्याकरणको लागि राज्यले मापदण्ड बनाउनुपर्ने सहारा एनिमल केयरले माग गरेको छ । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरेर यस्तो माग राखेका हुन् ।
भारत र विकसित मुलुकलहरुमा कुकुरको बन्ध्याकरणको लागि मापदण्ड बनाए पनि नेपालमा अहिलेसम्म कुनै पनि मापदण्ड तय नभएको भन्दै सहारा एनिमल केयरकी संस्थापक डा. रश्मी थापाले बताइन् । उनले कुकुर बन्ध्याकरणको लागि स्थानीय तहदेखि संघीय सरकारले मापदण्ड बनाउन जरुरी भएको बताइन् ।
‘अहिले मापदण्ड नहुँदा बन्ध्याकरण गरिएको कुकुरलाई २ घण्टाभित्रमा छोड्ने गरेको पाइएको छ,’ उनले भनिन्, ‘यो तरिका गलत हो । विश्व स्वास्थ्य संगठनको नियम अनुसार पनि बन्ध्याकरण गरिएको कुकुरलाई ४८ घण्टासम्म स्वास्थ्यकर्मीहरुको निगराखीमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर, यहाँ विराटनगरमा बन्ध्याकरण गरेको २ घण्टामा छोडने गरेको पाइएको छ । यो गलत तरिका हो । त्यसैले बन्ध्याकरणको लाग स्थानीय तह, प्रदेश र संघीय सरकारले एउटा मापदण्ड तयार गर्न जरुरी छ ।’
यस्तै, डा. थापाले महानगरले सञ्चारकर्मीमार्फत् दिएको प्रतिक्रिया र विभिन्न अनलाइनमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै ती भ्रामक र एकतर्फी भएको बताएकी छन् । उनले ३ वर्षअघिको कार्यक्रमको फोटो प्रयोग गरी हालको विषयसँग जोडेर संस्थाको छवि बिगार्ने प्रयास भएको आरोप समेत लगाइन् । ‘काम गरिरहेकालाई हतोत्साहित गर्न खोजिएको छ’, उनले भनिन् ।
जेठ ९ गते विराटनगर–१९, मिलन चोकमा महानगर र हिमालयन एनिमल रेस्क्यु ट्रस्ट पोखराको समन्वयमा सञ्चालित बन्ध्याकरण शिविरमा लापरवाही भएको स्थानीयको सूचनाका आधारमा उनीहरू पुगेका थिए ।
सुरक्षाको मागसहित जनावरप्रति उत्तरदायी हुन अनुरोध गरेपछि कार्यक्रम केही समयका लागि स्थगित गरिएको थियो । तर सोही दिन ५६ वटा कुकुरको शल्यक्रिया गरिएका उनले बताइन् ।उनका अनुसार स्वास्थ्य मापदण्ड पालना नभएको, कुकुरलाई होस आउन १६–२० घण्टा लाग्ने जस्ता विषयमा चासो राख्दा पनि समन्वय नहुने अवस्था देखिएको थियो ।
सोही विषयमा जेठ १० गतेको छलफलमा सहारा एनिमल केयरका प्रतिनिधिलाई बोल्न नदिइएको र मेयर नागेश कोइराला र कर्मचारीले रुखो व्यवहार गरेको आरोप उनीहरुको छ । ‘हामीले प्रतिरोध गरेको होइन, जनावरको जीवनको सुरक्षाका लागि कुरा गरेका हौं तर प्रतिक्रिया दिन समेत अवसर दिइएन,’ उनले भनिन् ।
महानगरबाट अपेक्षित सहयोग नपाएको अवस्थामा एनएमबी बैंकको सहकार्यमा सहाराले १५० वटा कुकुरको निःशुल्क बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको थापाले जानकारी दिइन् ।
‘हामीले कुकुरको जीवन, स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौं’ उनले भनिन् ‘हाम्रा सबै कार्यक्रम पशुहितमै केन्द्रित छन् ।’ उनले पशु सेवा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र नीति निर्माणमा स्पष्टता आवश्यक रहेको धारणासमेत राखेकी थिइन् ।