विराटनगर । गण्डकी प्रदेश सरकारले जारी गरेको राइड शेयरिङ सम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायी तथा मजदुर संघ संगठनले गरेको सार्वजनिक यातायात बन्दले कोशी प्रदेशको जनजीवन पनि प्रभावित बनेको छ ।
प्रदेशको मुख्य व्यापारिक केन्द्र विराटनगरमा सार्वजनिक यातायात सेवा पूर्णरूपमा ठप्प भएपछि सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । सार्वजनिक बस, माइक्रोबस तथा अन्य सवारी साधन कुदेका छैनन् । लामो दूरी जाने सवारीका साधन बन्द भएपछि यात्रु अलपत्र बनेका छन् ।

यही मौकामा लोकल रूपमा चल्ने टेम्पु, सिटी सफारीले भने मनपरी भाडा उठाएका यात्रुहरूको गुनासो छ । ओखलढुंगाका माधव कार्की शिक्षक सेवा आयोगको परीक्षा दिन विराटनगर आएका थिए ।

बन्दका कारण उनी घर फर्कन पाएनन्। आफन्तको घर सुनसरीको दुहबी हो । ‘सार्वजनिक यातायातका साधनले ८० रूपैयाँ लिन्थ्यो । अहिले टेम्पुले एक जनाको ५ सय भन्छ । ५ सय तिर्ने अर्को मान्छे पनि खोज्न भन्छ । बन्द कसले गरेको भन्ने थाहा भएन तर, हामीले दुस्ख पायौं’, उनले भने ।


उनी मात्रै होइन विर्तामोडका जितेन्द्र रजकलाई पनि निजी सवारीका साधनले १५ सय मागेका छन् । २५० रूपैयाँ तिर्ने बाटोमा एक जनाको १५ सय मागेको उनले बताए ।
‘मसँग आज बास बस्ने पैसा पनि छैन’, उनले भने,‘गाडीले मागेजस्तो तिर्ने पैसा पनि छैन । हिँडेर पनि जाउँ भने पुगिँदैन ।’
सार्वजनिक सवारीका साधन भने विराटनगर बसपार्कमा थन्काइएको छ । विराटनगर, इटहरी , धरान, दमक विर्तामोड लगायतका शहरबाट पहाडी जिल्लामा यातायातका साधन छुट्ने गरेका छन् । लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधन नचल्दा यात्रु थप समस्यामा परेका छन् ।
यातायात व्यवसायीहरूले राइड शेयरिङ सम्बन्धी नियमावली फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
अहिले सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता सुरु भएको गृहमन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।
