सहिद मरेको देश: बलिदानीको अपमान !

 प्रतिश श्रेष्ठ

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपुत मरेर नगर ।

देशको मायाले ओतप्रोत भएको कवि भूपी शेरचनले लेख्नुभएको ‘ सहिदहरुको सम्झनामा’ शीर्षक रहेको कवितामा सहिदहरूको महत्व गहिरो रूपमा प्रकट छ। सहिदको साहस र समर्पण प्रति हामी शीर निहुराउँछौ र सम्मान प्रकट गर्दछौं । तिनीहरूको कारण आज हामी लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौं । यो परिवर्तित समय र स्वाद हामीले देख्न, भोग्न र बाँच्न पाउँदैनौं थियौ, यदि यी सबैको निम्ति हजारौं सहिदहरुले आफ्नो अमूल्य जीवन इतिहासका शासकहरू विरुद्ध लडेर र मरेर नल्याएको भए। ती हजारौं सहिदहरु चाहे विभिन्न मधेसी, जनजाति र जनआन्दोलनका क्रममा सहादत भएका सहिदहरु हुन्, वा माओवादी द्वन्द्वकालका लडाकु हुन, वा तत्कालीन शाहि नेपाली सेना र प्रहरीहरु हुन् वा निर्दोष जनताहरू हुन् । यी सबै ज्यानहरु को संघर्षपूर्ण बलिदानीबाट गणतान्त्रिक संविधान जन्मिएको हो र यो व्यवस्थामा जनताले निर्धक्कसँग आफ्नो कुरा राख्न, आवाज उठाउन र स्वतन्त्र भै बाँच्न पाएको हो। आज ती हजारौं सहिदहरुको पवित्र त्याग, समर्पण र प्रेरणाले गर्दा नेपालीहरुले आफ्नो अधिकार र न्यायका लागि लड्ने चेतना र साहस पाएका छन् । तर के हामी नेपालीहरु सबैले ति तमाम मृतकहरुलाई आत्माबाटै सहिद भनेर समान सम्मान गरेका छौ ? के हामीले यो व्यवस्था ल्याउने १० वर्षे माओवादी विद्रोह र त्यस पछिका आन्दोलनका हजारौं सहिद र बेपत्ता पारिएकालाई भने न्यायोचित न्याय दिएका छौ ? विषय यो हो। प्रश्न यो हो ।
न्याय पक्षधर नेपालीहरु र राज्यले ४ जनालाई मात्र विशिष्ट सहिदको दर्जा दिएर माला लगाएर विभिन्न आन्दोलनमा मारिएका हजारौं सहिदहरुलाई उपेक्षा गर्नु अन्यायपूर्ण र विभेदपूर्ण छ । पवित्र सपना बोकेर देशको लागि मरेका ती हजारौं सहिदहरुलाई आजसम्म पनि नेपाली जनताले न्याय नदिएको जस्तो लाग्छ। एउटा सहिदको परिवारलाई लाग्छ । किनभने यो देशलाई निरंकुश राजतन्त्र र अन्यायपूर्ण सामन्ती व्यवस्थाबाट लोकतान्त्रिक गणतन्त्र व्यवस्थासम्म ल्याउन आफ्नो ज्यान बलिदानी दिएका माओवादी युद्धमामा प्राण गुमाउनेहरुलाई आजसम्म नेपालीहरुले सहिद मान्न सकेका छैनन्। समान सम्मान गर्न सकेका छैनन् । अतः उनीहरुलाई कसैले युद्धमा मारिएका ‘विर्द्रोहि’ त कसैले ‘आतङ्ककारी’ जस्ता शब्दहरुले गाली गर्छन। यो व्यवहारले ती महानसहिदहरु प्रति देश र जनताले गरेको ठूलो अन्याय मात्र होइन लोकतन्त्र, गणतन्त्र प्रतिको अपमान पनि हो । देशका जिम्मेवार पार्टीहरु र संविधानले पनि राज्यबाट विभिन्न आन्दोलनहरुमा मारिएकाहरुलाई सहिद भनेर खास महत्व नदिँदा सहिदहरु आज आफै पीडित छन् । अझ ती हजारौं सहिदका लाखौं परिवारहरू अहिले पनि पीडामा छन्। धेरैजसोलाई न राज्यको साथ छ न समाजमा सम्मान । यो कुराको संवेदनशीलता भोग्ने लाई नै थाहा छ । आफ्नो बुवा आमाको मृत्युले सन्तानहरु टुहुरो भई उनीहरूको जीवनको हरेक कुरामा ठूलो क्षति आउँछ। जब एउटा निम्नस्तरको परिवारको मुख्य भरोसा बुवा आमाको मृत्यु हुन्छ, तब त्यस घरका छोराछोरीहरुको भविष्य पनि मर्दछ । उनीहरु को पालन पोषणदेखि शिक्षा दीक्षा, रोजगार, स्वास्थ्य, खुसी सबै कुरा मा ठूलो प्रभाव पर्न जान्छ। शिक्षा र सीप हुँदा हुँदै पनि सहिदका सन्तानहरु बेरोजगार भई खाडी देशमा श्रम गर्न जान बाध्य छन् । राज्यले संविधानमा सहिद परिवार र द्वन्द पीडितहरुको हक सुनिश्चित नगरेर उपेक्षा गरेको छ। सहिदका सन्ततीहरू आफ्ना आमा बुवाहरु झैं यही देशमा बसेर देसभक्त भई आफ्नो श्रम र योगदान दिदा धेरै खुसी हुन्थिए। तर आज ती हजारौं हजार सहिद, घाइते, अनि बेपत्ता र तीन का परिवारहरू, द्वन्द पीडितहरु, कुन अनि कस्तो अवस्थामा छन् त्यो यो राज्यका जिम्मेवार पार्टीहरु र सरकारलाई मतलब छैन् । धेरै सहिद परिवारहरु गास, बास, कपास, र स्वस्थमा पहुँचसमेत नभई कष्टकर जीवन बाँचिरहेका छन्। तर हाम्रो राज्यको कुनै निकायले पनि त्यस्ता परिवारहरूलाई सहयोग गर्नु आफ्नो दायित्व हो भन्ने ठान्दैनन्।

एकातिर भौतिक जीवनका अभाव र समस्या त छँदै छ, अर्को तिर फेरि बल्ल बल्ल हजारौंको रगतले लेखिएको संविधान, व्यवस्था र नागरिक स्वतन्त्रता माथि नै खतरा उत्पन्न हुने गरी यो व्यवस्था नै उल्टाएर राजतन्त्र फर्काउने प्रयासहरु केही भइरहेको छन्। यो विषय परिवर्तन पक्षधरहरु को लागि गम्भीर विषय बनेको छ । देश, समाज अगाडि बढ्नुपर्नेमा पछाडि जान खोज्ने मनोविज्ञान अर्थहीन छ। यदि फेरि यो देश त्यही निरंकुश व्यवस्थामा गयो भने ती तमाम सहिदहरु अस्तित्वहीन हुनेछन् । उनीहरूको मृत्यु पनि त्यतिबेला अर्थहीन मृत्यु हुनेछ। त्यस समय सहिद परिवारहरूको जीवनमा पनि ठूलो भूकम्प आउँनेछ, पीडा हुनेछ, क्रोध आउँनेछ। भएको व्यवस्थालाई बद्नाम गर्ने, सहिदको सपना तुहाउने, तत्कालिन माओवादी आन्दोलनका मुख्य नेताहरु सहित यो संविधान र यो व्यवस्थालाई बचाउन नसक्ने जिम्मेवार पार्टीका मुख्य नेताहरु माथि इतिहासले हिसाब गर्नेछ। नेताहरुकै निकम्मापन र स्वर्थपनले गर्दा आज संघीय गणतन्त्र धरापमा पुगेकोछ। हजारौंको जीवन पवित्र आस्था, त्याग, समर्पण र बलिदानी र त्यसबाट प्राप्त उपलब्धिप्रति असंवेदनशील भई जथाभावि खेलबाड गर्ने, यसलाई निरर्थक तुल्याउने र समाप्त पार्ने अधिकार कसैलाई छैन । त्यो क्षम्य हुँदैन ।

आज यो देशको अवस्था हेर्दा विरक्त लाग्दो छ । राज्यका कुनै पनि निकायहरु स्वच्छ र पारदर्शी छैनन्। जताततै पार्टीको हस्तक्षेपले गर्दा स्वच्छ प्रतिस्पर्धा, विधिको शासन, समान अधिकारबाट गरीबहरु विशेषत पीडित छन् । जताततै भ्रष्टाचार, लुटतन्त्र, अराजकता, नातावाद, सिन्डिकेट, अन्याय र अत्याचार चरम अवस्थामा छ जसले सबैलाई विक्षिप्त बनाएको छ । यहाँ बाठा स्यालहरुले जनतालाई भेडा बनाएर यो राज्यमा रजाइँ गरेका छन् । यो देशमा सदियौंदेखि दमनमा परेका दलितहरु, अल्पसंख्यकहरु, मधेसी मुस्लिमहरुलाई अझ पनि दोस्रो दर्जाका नागरिक झै व्यवहार गरिन्छन्। उनीहरूको समानता र आत्मसम्मानको लडाई जारी नै छ । आज देश अनेकौं किसिमका आन्दोलनहरूले अशान्त छ । आक्रान्त छ । यस्तो अवस्थामा सहिदको बलिदानलाई अर्थहीन बनाउने काम भइरहेको छ।

माओवादी पार्टीहरुले आफ्ना हरेक कार्यक्रमहरुमा सहिद तथा बेपत्ताहरुलाई औपाचारिक रूपमा सम्झिए पनि, त्यो बाहेक उनीहरूका परिवारको ख्याल गर्ने र जीवनस्तर सुधार्न खास पहल कदमी लिएको देखिँदैन । मुख्य कुरा त माओवादी आन्दोलनको नेतृत्व पटक–पटक सत्तामा रहँदा समेत सहिदको सपना पुरा गर्न असफल छ । नेताहरूमा क्रान्तिकारी विचार, व्यवहार र जीवनशैली बीचको सन्तुलन नहुँदा पार्टी कमजोर हुँदै ,व्याप्त फुट, अराजकता र विसंगतिहरु मौलाइरहेको छ । यो दृश्य देख्दा सहिदहरुलाई आफ्नै सहयोद्धा कमरेडहरुसँग विश्वास हराउँदै गएको छ त्यसैले उग्र असन्तुष्ट छन् । ज्यादै दुःखी छन् । र कमरेडहरुलाई धिक्कारी रहेका छन्।

अर्को तिर नेपाली जनताहरू र पार्टीहरु, राजनीतिक पूर्वाग्रह र स्वार्थसहित एक अर्कालाई निषेध गर्ने गरेको कारण नेपालको महत्वपूर्ण राजनीतिक विषयहरुमा राष्ट्रिय एकता र एकरूपता नहुनु अर्को विडम्बना हो । सहिदहरुको सम्मानमा राष्ट्र एकमत नहुनु दुर्भाग्यपूर्ण छ। त्यसैले आज इतिहासको पाना लेखिनुपर्ने नामहरू मेटिदैछन् । आज यो देशमा १८औं गणतन्त्र दिवस मनाउँदै गर्दा गणतन्त्र आइसियुमा छ। ऊ सख्त घाइते छ र लामो श्वास फेर्दैछ। आज कोही पनि जनता यो देशको अवस्थासँग खुसी छैनन्। सहिदहरु खुसी छैनन् । अतः सहिदको आत्मा सबै नेता मिलेर मारिसकेका छन् । सहिदले गरेको योगदानको उचित कदर नभए पछि, देश नेताहरुले कुरुप बनाए पछि, नेताहरु झन्झन् भ्रष्ट र नालायक भएपछि, सहिद, बेपत्ता अनि घाइतेको परिवारहरु दुःखी र आक्रोसित भए पछि, यो सब देख्दा सायद सहिदहरु चिहानभित्र अँध्यारोमा रुँदै होलान् ! जनतालाई मुक्ति दिने सहिदहरुको आत्मालाई भने आजसम्म मुक्ति मिलेको छैन । सहिदहरुको आत्मा रुँदै भड्किरहेको छ जंगलहरूमा, बस्तीहरुमा । उनीहरू आक्रोसित छन्। त्यो आक्रोश जनताको आवाजमा सुन्न सकिन्छ । जनताका जीवनमा देख्न सकिन्छ।

तर सहिदहरु सधैं आशावादी हुन्छन् । उनीहरू मरेर पनि जन्मिने आशा राख्छन् । जति सुकै निराशा भएता पनि सहिदहरु सपना देख्न छोड्दैनन्। देश र जनताको लागि प्रार्थना गर्न छोड्दैनन्। र जुन दिन यो देशका सबै नागरिक समान अधिकारसहित बाँच्न पाउनेछन्, जुन दिन नेपालमै बसेर नेपाली हुनुमा नेपालीलाई आत्मगौरव हुन्छ, जुन दिन राष्ट्रिय एकता र समृद्धि हुन्छ, त्यही दिन सहिदहरु मरेर पनि जनताको ढुकढुकीमा बसिरहनेछन् । त्यस दिन उनीहरू देशको लागि आफूले हाँसीहाँसी जीवनको बलिदानी दिएकोमा गौरव गर्नेछन् र इतिहासमा अमर हुनेछन । तर त्यतिन्जेलसम्मलाई भने सहिदहरुको अपमान गरिएको यो देश ‘सहिद मरेको देश’ भनेरभन्दा अतिरञ्जित नहोला ।

बिहिबार, १६ जेठ, २०८२

प्रतिक्रिया:

सम्बन्धित खवर