विराटनगर । विरामीलाई आर्थिक भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामग्रीमा नयाँ उत्पादन मिति राखेर बजार पठाउने गरेको आरोप खेप्दै आएका न्युट्रास्युटिकल एसोसिएसन मोरङका अध्यक्ष बिपिन झा राजस्व छलेको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्ने डरले भारततर्फ भागेका झालाई विराटनगर आएपछि राजस्व अनुसन्धान कार्यालय इटहरीले पक्राउ गरेको हो । उनीमाथि ठूलो परिमाणमा राजस्व छलेको आरोप छ । पक्राउ परेलगतै सोही आरोपमा उनीमाथि अनुसन्धान अगाडि बढाएको बताइएको छ । यद्यपि झालाई पक्राउ गरेको विषयलाई भने राजस्व अनुसन्धान कार्यालयले गुपचुप राख्ने प्रयत्न गरेको छ ।
उच्च अदालत विराटनगरमा आइतबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । राजस्व कार्यालयले १३ दिनको म्याद थप माग गरेको भए पनि अदालतले पाँच दिनको मात्र अनुमति दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए ।
घटनाको सुरुवात २०८१ साल पुस २८ गतेदेखि भएको हो । विराटनगर ६ स्थित बीएफएम पूर्व भूमि मार्गमा रहेको झाको तीन तलाको घरमा प्रदेश प्रहरी कार्यालय विराटनगर, मोरङ प्रहरी र राजस्व अनुसन्धान कार्यालयले संयुक्तरुपमा छापा मारेको थियो । झाले आफ्नो घरको भुइँ र दोस्रो तला गरी तीन वटा कोठालाई गोदाम बनाएर ठूलो परिमाणमा तस्करी गरेर ल्याएको खाद्यपूरक सामग्री भण्डारण गरेका थिए ।
छापाका क्रममा उक्त गोदामबाट १४ भन्दा बढी प्रकारका न्युट्रास्युटीकल र विभिन्न कम्पनीका मल्टी भिटामिनहरू बरामद गरिएको थियो । चकित पार्ने कुरा के थियो भने, बरामद भएका सबै खाद्य पूरक सामग्रीहरूको म्याद सकिसकेको थियो । तर, यी म्याद सकिएका उत्पादनहरूमा नयाँ उत्पादन मिति राखेर बजारमा बिक्री गरिँदै आएको खुलेको थियो ।
आश्चर्यजनक कुरा के थियो भने, यति ठूलो घोटाला पत्ता लागे पनि अनुसन्धानको जिम्मा पाएको राजस्व कार्यालयले मुख्य अभियुक्त झालाई छोडेर उनका कार चालकलाई मात्र पक्राउ गरेको थियो । यसको फाइदा उठाउँदै झा बिरामी परेको बहाना गरेर भारत फरार भए । उनी त्यहाँ तीन–चार महिनासम्म लुकेर बसे ।
घटना सामसुम भएको ठहर गरेपछि झा विराटनगर फर्किए । राजस्व अनुसन्धान कार्यालयले निरन्तर अनुसन्धान गर्दै जाँदा झाले राजस्व छली गरेर खाद्यपूरक सामग्री र मल्टी भिटामिनहरू ल्याएको पत्ता लागेपछि उनलाई बिहीबार पक्राउ गरिएको हो ।
अनुसन्धानका क्रममा झाले एक दशकदेखि न्युट्रास्युटिकल आयात गर्ने सप्लायर्सको व्यवसाय चलाउँदै आएका थिए । उनले साक्षी मेडिलिङ्कमार्फत भारतबाट न्युट्रास्युटिकल सस्तोमा ल्याएर यहाँ आफैंले खरिद गरेको भन्दा दश गुणा बढी मूल्य तोकेर बजारमा पठाउने गरेको पाइएको छ ।
वैधरूपमा आएको देखाउन थोरै परिमाणमा भन्सार तिरेर ल्याउने र धेरै न्युट्रास्युटिकल भरिया प्रयोग गरेर तस्करी गरेर ल्याउने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् । एक अनुसन्धान अधिकृतका अनुसार २८ पुसमा झाको घरबाट ठूलो परिमाणमा म्याद सकिएको न्युट्रास्युटिकल बरामद गर्नुका साथै एक जना भरियालाई पनि पक्राउ गरेपछि पत्ता लागेको बताए ।
झाको अपराधिक गतिविधि यतिमा सीमित थिएन । उनले म्याद सकिएको न्युट्रास्युटिकलको उत्पादन मिति र म्याद सकिएको मिति मेटाउन केमिकल प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लगाएको थियो । केमिकल प्रयोग गरेर पुराना मितिहरू मेटाएपछि नयाँ उत्पादन मिति र मूल्य तोक्ने स्टिकर टाँसेर बजारमा पठाउने गरेको पाइएको छ । ‘झाको गोदामबाट मूल्य तोक्ने स्टिकर पनि बरामद भएको छ । यसले उनको यो अपराधिक गतिविधि व्यवस्थित र योजनाबद्ध रूपमा भएको देखाउँछ,’ अनुसुन्धान अधिकृतले भने ।
यस घोटालामा केही चिकित्सकहरूको पनि संलग्नता रहेको पाइएको छ । स्वास्थ्य क्षेत्रका जानकारका अनुसार झाले भारतमा ५० रुपैयाँमा खरिद गर्ने न्युट्रास्युटिकल यहाँ ल्याएर आफैले मूल्य तोकेर पाँच सयसम्म बिक्री गर्दछन् । विक्री गरेको पनि भ्याट बिल प्रयोग नगरेर प्यान बिल दिने गरेका थिए ।एक फार्मेसी संचालकका अनुसार, ‘चिकित्सकलाई धेरै प्रकारका मल्टी भिटामिन लेख्न लगाउने र एउटै पर्चीमा पाँच हजारसम्मका न्युट्रास्युटीकल लेख्ने गरेको पाइएको छ ।’ चिकित्सकले लेखिदिएपछि बिरामीले खरिद गर्छन् । सस्तोमा खरिद गरेको न्युट्रास्युटीकल यहाँ ल्याएपछि महँगोमा बिक्री गरेको पैसाबाट न्युट्रास्युटीकल सप्लायर्सले चिकित्सकलाई पनि हिस्सा दिने गरेका छन् ।
यस घोटालाले विरामीलाई दोहोरो नोकसान पुर्याएको छ । एकातिर सरकारी राजस्वमा चोरी भएको छ भने अर्कोतिर बिरामीहरूको स्वास्थ्यमा खतरा निम्त्याएको छ । म्याद सकिएका खाद्यपुरक सामग्रीले स्वास्थ्यमा असर पुर्याउने चिकित्सकले बताएका छन् । झाले विराटनगरसहित पूर्वका विभिन्न सहरहरूमा न्युट्रास्युटिकल सप्लाइ गर्दै आएका थिए । एक पत्ता न्युट्रास्युटिकलमा दश गुणासम्म मुनाफा राखेर बिक्री गर्ने गरेको पाइएको छ । यसरी चाँडै पैसा कमाउने धन्दामा लागेका झाले नष्ट गर्ने तयारी गरिएको न्युट्रास्युटीकल बरामद भएको बेला बरामद गर्न आएको टोलीलाई बताएका थिए ।
राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीका प्रमुख उत्तम कुमार घिमिरेले राजस्व छली गरेको विषयमा अनुसन्धान भइरहेको बताए । ‘अहिले अनुसन्धान भइरहेको छ । अनुसन्धान पूरा भएपछि मात्र भन्न मिल्छ । झाले कति राजस्व छली गरे त्यो भने अझै खुलिसकेको छैन,’ उनले भने, ‘पछि अनुसन्धान सकिएपछि मात्रै भन्न मिल्छ ।’