निमुखा किसानमाथि ठगी

 सम्पादकीय

समयमा मल तथा बिउ नपाएर हैरान हुने नेपाली किसानहरु पाएको मल र बिउ पनि नक्कली हुँदा थप समस्यामा पर्ने गरेका छन् । नक्कली बिउको कारण उत्पादन नभएर समस्या भएका घटना हरेक वर्ष आउने गरेका छन् । पछिल्लो समयमा सुनसरीलगायत कोशी प्रदेशका विभिन्न स्थानमा भएको अनुगमनले नेपालको कृषि प्रणालीमा गम्भीर त्रुटिहरू देखाएको छ । बाली विकास अधिकृत, बिउ निरीक्षक र सम्बन्धित निकायहरूको टोलीले १ हजार २५ किलोग्राम अवैध बिउ बरामद गर्नु, व्यवसायीहरू पसल बन्द गरेर भाग्नु, र सरकारी कम्पनी आफैंले दर्ता नभएका व्यवसायीलाई बिउ बेचेको तथ्यले यो संकटको गहिराइ उजागर गर्छ । नेपालमा कृषि क्षेत्र किसानहरूको जीवनयापन र देशको अर्थतन्त्रको मेरुदण्ड हो ।

तर, त्यही कृषकहरूलाई नकली वा म्याद गुज्रेका बिउमार्फत ठग्नु अपराध मात्र होइन, देशकै उत्पादन क्षमतामाथि प्रहार हो । बिउ उत्पादनदेखि वितरणसम्मको प्रक्रियामा पारदर्शिता र कडाइ नहुनुले किसानको श्रम, लगानी र आशालाई बर्बाद बनाउँछ ।
अझ खतरनाक पक्ष के भने, सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड जस्तो संस्थाले नै बिउ व्यवसाय प्रमाणपत्र नभएका व्यक्तिलाई बिउ उपलब्ध गराएको पाइएको छ । यस्तो कार्यले नियामक निकायको नैतिक धरातल गुमाएको देखिन्छ । प्रदेश सरकारले बिउ बिजन ऐन २०८१, जीवनाशक विषादी ऐन २०८१ लगायत कानुनी व्यवस्था गरे पनि कार्यान्वयनमा देखिएको लापरवाही चिन्ताजनक छ । बजारमा सूचिकृत तथा दर्ता नभएका बिउ खुलेआम बिक्री हुनु, र निरीक्षण टोली पुग्दा पसल बन्द हुनुले व्यवसायीहरूको नियत प्रष्ट देखाउँछ । यो केवल बिउको समस्या होइन; यो कानुनी शासन र कार्यान्वयन निकायहरूको कमजोरीको प्रतिबिम्ब पनि हो । ऐनको दफा २६ अनुसार यस्तो कार्यमा संलग्नलाई जरिमाना वा सजायको व्यवस्था गरिएको छ, तर त्यसको प्रभावकारी प्रयोग नहुँदा यस्ता घटना बारम्बार दोहोरिइरहेका छन् ।

अब सरकार र सम्बन्धित निकायहरूले यस्ता अवैध गतिविधिमा शून्य सहनशीलताको नीति अपनाउनुपर्छ । कृषि मन्त्रालय, प्रदेश सरकार, निरीक्षण संयन्त्र र बिउ प्रयोगशालाबीच समन्वय बढाई, दोषीलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ । कृषकहरूलाई सुरक्षित र गुणस्तरीय बिउ उपलब्ध गराउनु भनेको देशको भविष्य सुनिश्चित गर्नु हो । त्यसैले अब समय आइसकेको छ — बिउको कारोबारमा अनुशासन, पारदर्शिता र जवाफदेहिताको नयाँ युग सुरु गर्ने । सरकार किसानको समस्याप्रति गम्भीर हुनुपर्छ । दुःख र मेहनत गर्ने किसान ठगिन नपाउन् भनेर गम्भीर हुनुपर्छ । निमुखा किसानलाई ठगी गर्नेमाथि कडा कार्वाही गरिनुपर्छ ।

सोमबार, १३ जेठ, २०८२

प्रतिक्रिया:

सम्बन्धित खवर