विराटनगर । मोरङको पथरी शनिष्चरे नगरपालिकाले सबै २८ विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका लागि विद्यालय सुधार तथा नेतृत्व विकास सम्बन्धी एक दिवसीय कार्यशाला आयोजना गरेको छ।
नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यशालामा एक्काइसौँ शताब्दीको विद्यालय सुधार तथा विकासका लागि प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिको परिवर्तित भूमिकाका विषयमा चर्चा गरिएको थियो। सार्वजनिक शिक्षा सुधारका लागि समुदायको सहभागिता र अपनत्वको विकास गर्दै सामुदायिक विद्यालय कसरी सामुदायिक उत्थान तथा विकासको केन्द्र हुन सक्दछन भनेर छलफल तथा अन्तरक्रिया गरिएको थियो।
ूसमुदायसँग हातेमालो गर्दै विद्यालय सुधारका विविधि आयामका विषयमा हामीले आज छलफल गरेका छौं कार्यक्रममा सहभागी श्री पंचायत माध्यमिक विद्यालय पथरीका व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा बताउँछन् । ‘विद्यालय सुधार गर्ने जिम्मेवारी प्रशासन कि समुदायको भन्ने बहसमै हामी अल्झिरहेको सन्दर्भमा आजको कार्यक्रमबाट सामुदायिक विद्यालय समुदायको केन्द्र भएको कारण समुदायले नै यसको सुधारको अपनत्व लिनु पर्नेमा हामी प्रष्ट भएका छौँ’, उनले भने ।
नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सबै विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष तथा महिला सदस्यताको सहभागितामा विद्यालय सुधार सम्बन्धी रणनीतिक कार्यशालाको आयोजना गरिएको शिक्षा शाखा प्रमुख नविन खुलालले बताए। विद्यालय सुधारका लागि प्रधानाध्यापक नै सबैभन्दा जिम्मेवार व्यक्ति भएको औँल्याउँदै महिलाले नेतृत्व गरेका विद्यालय अझै अब्बल भएको उपमेयर देवीमाया काफ्लेले बताइन।
कार्यशालाको सहजीकरण वृहत राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरेले गरेका थिए । सार्वजनिक शिक्षा सुधारको मौलिक नेपाली मोडल सहित सामुदायिक विद्यालय सुधारका रणनीतिक योजनाका विषयमा केन्द्रित रहेको सहजकर्ता घिमिरेले बताए।