विराटनगर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विराटनगरका उद्योगी व्यापारीहरूलाई मागअनुसार विद्युत दिन नसक्ने बताएका छन् । मोरङ उद्योग व्यापार संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मोरङ –सुनसरी करिडोरमा राति २ बजेपछि मात्रै विद्युत आउने गरेको भन्ने गुनासो आएपछि जवाफ दिँदै निर्देशक शाक्यले ओठे जवाफ फर्काएका हुन् । उनले भने, ‘मैले जे पाएँ त्यही दिन्छु, चाहे लिनुहोस् या नलिनुहोस् ।’ उनको यस्तो गैरजिम्मेवार जवाफपछि कार्यक्रममा उपस्थित पत्रकारले सहि जवाफ दिनुभयो भन्दै व्यङ्ग्य गरेका थिए ।
डेडिकेटेड फिडरको समस्या समाधानका लागि शाक्यले कर्मचारीहरूलाई अदालत जान आग्रह गरेका छन् । ‘अदालतमा गएर कानुन खोजेर यो विषय टुंग्याइदिऊँ,’ उनले भने, ‘हामी त्यत्तिकै छोड्न सक्दैनौं । छोड्यो भने राजस्व हिनामिनामा पर्छ । मैले केही लिएको छैन । म किन समस्यामा पर्नु ?’ उद्योगी व्यापारीहरूले डेडिकेटेड लाइनको विषयमा प्राधिकरणको जवाफ मागेपछि शाक्यले ‘प्राधिकरण आफैं धामी आफैं बोक्सी नहुने’ जवाफ दिएका छन् ।
त्यस क्रममा निर्देशक शाक्यले आउँदा जाडो याममासमेत पर्याप्त विद्युत दिन नसक्ने बताए । अघिल्लो व्यवस्थापन चुकेका कारणले समस्या आएको उनको भनाइ थियो । ‘आउने जाडोमा पनि हामीलाई ७५० मेगावाट विद्युत पुग्दैन,’ उनले भने, ‘दुई वर्षपछि भने त्यसको व्यवस्थापन गर्छाैं ।’ यद्यपि उनले ५०० मेगावाट भने व्यवस्थापन गर्ने बताए ।
निर्देशक शाक्यले सोलार विद्युत उत्पादका लागि नेपाल सरकारबाट ऋण लिएर भएपनि लगानी गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा मात्रै लोडसेडिङ भएको दाबी गरेका छन् । विद्युत प्राधिकरणलाई दिगो बनाउन महसुल बढाउने, ऋण लिने तथा लागत घटाउने विकल्प रहेको उनले बताएका छन् । विद्युत प्राधिकरण नाफामा नरहेको पनि उनले स्पस्टीकरण दिए ।
यसैबीच, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले उद्योग क्षेत्र ढाड बिनाको शरीरजस्तो भएको बताएका छन् । ‘विद्युतको आपूर्ति नियमित नहुँदा उद्योगहरु अस्ताएको घाम जस्तो भएका छन्,’ राठीले भने । उनले यस अघिसम्म लोडसेडिङ अन्त्य भएको भन्नु लोकप्रियतावादमात्रै भएको आरोप लगाए ।
पहिला भन्दा अहिले पनि थप विद्युत नआएको भन्दै राठीले लोडसेडिङ मुक्त नभएको जिकिर गरे । काम छाडेर धर्ना दिनुपर्ने अवस्था आएको उनले बताए । उनले समय तालिका बनाएर उद्योगलाई विद्युत दिन आग्रह गरे । उत्पादनमा व्यस्त भएका बेला खोलामा पानी सुक्यो भनेर विद्युत नदिने गरेको आरोप उद्योगी पवनकुमार सारडाले लगाए ।