सार्वजनिक लेखा सभापतिकी श्रीमती जोडिएको सहकारी मुद्दाको सुनुवाइ तेस्रो पटक स्थगित

विराटनगर । सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला जोडिएको उमागौरी सहकारी ठगी सम्बन्धी मुद्दाको सुनुवाइ तेस्रो पटक पनि स्थगित भएको छ ।उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासमा बिहीबार चढेको पेसी प्रतिवादीको कानून व्यवसायीले निवेदन दिएपछि स्थगित भएको हो ।

मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले अञ्जलासहित ६ जना प्रतिवादीलाई थुनामा राखेर आदेश गरिनुपर्ने माग राख्दै ७३ नम्बरको निवेदन दिएका थिए ।

११ वैशाखमा उच्च अदालत विराटनगरका न्यायाधीशद्वय श्रीधरा कुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको राय बाझियो । अञ्जलासहित ६ प्रतिवादीको हकमा दुई न्यायाधीशबीच थुनामा पठाउने कि नपठाउने भन्ने सम्बन्धमा होइन, धरौटी रकम बढाउने कि नबढाउने भन्ने विषयमा मात्र राय बाझियो । त्यसपछि तेस्रो न्यायाधीशको इजलासमा पेसी चढेको थियो । दुई पटकसम्म मुख्य न्यायाधीश नन्दको इजलासमा पेसी चढेपछि प्रतिवादीका कानून व्यवसायीले हटाउँदै आएका छन् ।

यसअघि न्यायाधीश केशवप्रसाद बास्तोलाले प्रतिवादीमध्येका रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा जनही १ करोड र अन्य प्रतिवादीहरू लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र मनोज कुमार सोनीको हकमा जनही २५ लाख रूपैयाँ धरौटी माग गर्ने राय पेस गरेका थिए ।

तर, न्यायाधीश श्रीधरा कुमारी पुडासैनीले जिल्ला अदालत मोरङले गरेको आदेशलाई सदर गर्ने राय दिइन् । न्यायाधीश बास्तोलाले सहकारीका अध्यक्ष शम्भु प्रसाद रौनियारलाई जिल्लाको आदेशलाई सदर गर्दै पुर्पक्षमा पठाएको हकमा भने सहमत भएका छन् ।

जिल्ला अदालतले अञ्जलालाई १० लाख, ज्योतीलाई ५ लाख, लक्ष्मी देवीलाई ५० हजार, सुमन लोहनीलाई २ लाख र मनोज कुमार सोनीलाई १ लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

सरकारी वकिलको कार्यालयले सहकारी ठगी प्रकरणमा अञ्जलासहित ६ जनालाई जिल्ला अदालत मोरङले गरेको आदेश बदर गरी थुनामै राखेर अनुसन्धान गर्न माग राख्दै उच्च अदालत विराटनगरमा ७३ नम्बर गरेको छ ।

मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना गरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारी ऐनअन्तर्गत मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो । तत्कालीन न्यायाधीश उद्धव प्रसाद भट्टराईको इजलासले पुस २४ गते कोइरालालाई १० लाख रूपैयाँ धरौटी बुझाएर छोड्न आदेश दिएको थियो ।

गत मंसिर २७ गते सहकारीको रकम हिनामिना प्रकरणमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले ३ पुसमा उनीसहित २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

सहकारी ठगी मुद्दामा सहकारी अध्यक्ष शम्भु प्रसाद रौनियार र धनपालथान ४ का पूर्ववडाअध्यक्ष रोशन राजवंशी पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य धरौटीमा छुटेका छन् भने एक दर्जनभन्दा बढी अभियुक्त अझै फरार रहेका छन् ।

उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर सदस्य थिए । शेयरबापत ३ करोड ८ लाख ९० हजार रकम रहेको थियो । सहकारीमा ७०७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रूपैयाँ ऋण परिचालन भएको उल्लेख छ । हाल सहकारी बन्द अवस्थामा रहेको छ ।

बिहिबार, ०९ जेठ, २०८२, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर