विराटनगर । सूलभ दरमा विश्वसनीय सेवा प्रदान गरेका कारण कोशी प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाप्रति जनविश्वास बढ्दै गएको छ । सेवाबाट विश्वसनीय रिपोर्टहरु प्राप्त गरेकै कारण पछिल्लो समय प्रयोगशालाबाट सेवा लिन जाने सर्वसाधारणको संख्या उल्लेख्य बढेको छ ।
विराटनगरस्थित कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशाला नमूना बन्दै गएको प्रयोगशालाबाट सबैखाले स्वास्थ्य परीक्षण सेवालाई छिटो, सस्तो र प्रभावकारी बनाउँदै लगेको छ । प्रभावकारी र विश्वसनीय सेवा दिइरहेको प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यताका लागि प्रस्ताव गरेको छ ।
कोशी प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको जनस्वास्थ्य प्रयोगशालाले निजी क्षेत्रका अस्पताल र क्लिनिकहरूले भन्दा धेरै सस्तोमा दक्ष विज्ञ प्राविधिकहरू मार्फत सर्वसुलभ रूपले छिटो सेवा दिन थालेपछि स्थापनाको दुई वर्षभित्रै लोकप्रिय बनेको छ ।
प्रयोगशालामा रहेका अत्याधुनिक उपकरणहरूबाट न्युनतम शुल्कमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला परीक्षण गर्न पाउने भएपछि सर्वसाधारणले उक्त प्रयोगबालाबाट सेवा लिने क्रम बढेको हो । योसँगै जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालाको मान्यता लिन तयारी पनि गरिरहेको छ । यसबारे आइएसओका प्रतिनिधिहरू पनि सकारात्मक रहेको र चाँडै कोशी प्रदेशमा एक मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सुविधा सम्पन्न जनस्वास्थ्य प्रयोगशाला भनेर चिनिने निमित्त निर्देशक प्रकाशचन्द्र कार्कीले बताए ।
उनका अनुसार सस्तो, छिटो र भरपर्दो सेवा दिने गरेको जानकारी पाउन थालेपछि प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउन आउनेहरू ह्वात्तै बढेका हुन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएपछि अझै धेरै गरिब नागरिकहरूले सस्तो र भरपर्दो सेवा पाउनेछन् । निमित्त निर्देशक कार्कीले भने, ‘हामीले सबै प्रक्रिया पूरा गरिसकेका छौं, अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएपछि विश्वास थप बढेर सरकारी स्वास्थ्य सेवा पनि सस्तो र भरपर्दो हुँदोरहेछ भन्ने विश्वास पनि बढेर जाने छ ।’
संक्रामक रोगको निःशुल्क परीक्षण
कोशी जनस्वास्थ्य प्रयोगशालाका प्रशासन शाखा प्रमुख रेवति ढुंगानाका अनुसार कोशी प्रदेश प्रयोगशालाले जो–कोहीलाई डेंगु, मलेरिया, कालाजार, एचआइभी, टिभीलगायत १० प्रकारका संक्रामक रोगहरूको निःशुल्क परीक्षण गरिदिने गरेको छ । यसैगरी डायलासिस गराइरहेका मृगौलाका रोगीहरूले परीक्षणमा ९० प्रतिशत छुट पाउँछन् । विद्यार्थी, खेलाडी कर्मचारी, दलित, सीमान्तकृत, द्वन्द्वपीडित र जेष्ठ नागरिकलाई पचास प्रतिशत छुट हुन्छ ।
यो प्रयोगशालाले सर्वसाधारण विरामीहरूलाई निजी क्षेत्रका अस्पताल र प्रयोगशालाहरूले भन्दा ६० प्रतिशत कम शुल्क लिएर विभिन्न प्रकारका स्वास्थ्य जाँच गरेर तुरुन्तै प्रतिवेदन उपलब्ध गराउने गर्दछ। यो प्रयोगशालाले रगत, मृगौला, कलेजो, मुटु, थाइराइड, क्यान्सर, पाठेघरको मुख, सुगर, भिटामिनदेखि इन्फेक्सनसँग जोडिएका सबै खाले परीक्षणहरू न्यून शुल्कमा गर्दै आएको छ । होल बडी स्वास्थ्य परीक्षण पनि निजीमा भन्दा अति नै न्यून शुल्कमा गरिदिने गरेको छ । यो प्रयोगशालामा इन्डोक्रिनोलोजी, माइक्रोबायोलोजी, पारासाइटोलोजी, भिरोलोजी, मोलिक्युलर, हेमाटोलोजी, बायोकेमेष्ट्री, सेरोलोजी, हिस्टोसाइटो प्याथोलोजी अन्तर्गत सयौं प्रकारका स्वास्थ्य परीक्षणहरू अति नै न्युन शुल्कमा छिटो र भरपर्दो रूपले गर्ने गरेको छ।
मोबाइलमै रिपोर्ट
प्रयोगशालाका निमित्त निर्देशक प्रकाशचन्द्र कार्कीका अनुसार तत्कालीन प्रदेश नं. १ सरकारले २०७५ सालमा आफ्नै जनस्वास्थ्य प्रयोगशाला स्थापना गराएको हो । तर, दुई वर्षअघि आधुनिक भवन र अन्तर्राष्ट्रिय स्तरको उपकरण सहितको प्रयोगशाला निर्माण भएर थप दक्ष जनशक्तिहरूबाट सञ्चालनमा आएपछि कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आफ्नो सेवाको गुणस्तरमा ह्वात्तै परिवर्तन ल्याउन सकेको हो । हाल यो प्रयोगशालामा उचित प्रचारप्रसार नभए पनि विरामी र आफन्तहरूले गरेको मौखिक प्रचारकै विश्वासमा दैनिक एक सय जनाले प्रत्यक्ष विभिन्न स्वास्थ्य परीक्षण गराउन थालेका छन् । यो प्रयोगशालाले जाँचका लागि सेम्पल प्राप्त गरिसकेपछि द्रुत गतिमा अत्याधुनिक मेसिनबाट परीक्षण गरेर क्युआर कोड मार्फत सोझै मोबाइलमा प्रतिवेदन विरामीलाई पठाइदिने गरेको छ । जसबाट विरामीहरू स्वास्थ्य जाँच परीक्षणको प्रतिवेदन लिन घण्टौं कुर्नुपर्ने र प्रयोगशालामै आइरहनुपर्ने बाध्यता हुँदैन । कोशी जनस्वास्थ्य प्रयोगशालाले निजीमा ४ हजार पर्ने बायप्सी परीक्षण मात्र ३ सयमा, बाहिर २ हजार बढी पर्ने थाइराइड जाँच मात्र ६ सय र रगतको जाँच मात्र ५० रुपैयाँमा गरिदिने गरेको छ ।
प्रदेशका १४ वटै जिल्लाका सेम्पल निःशुल्क परीक्षण
कोशी प्रदेश सरकारको सरकारले दुई वर्ष अघि मात्र निर्माण सम्पन्न गराएको कोशी जनस्वास्थ्य प्रयोगशालाले हाल प्रदेशका चौधवटै जिल्ला अस्पतालहरूबाट सबै प्रकारका स्वास्थ्य परीक्षण सेम्पल मगाएर निःशुल्क परीक्षण गरिदिने गरेको छ । त्यसका लागि दुई दिनभित्र सबै प्रकारका विरामीको सेम्पल आइपुग्ने गरी ‘नेपाल क्यान मुभ’ नामक कुरियर कम्पनीसँग सम्झौता गरेर जिल्लाका विरामीलाई निःशुल्क परीक्षण सेवा दिन थालिसकेको छ । प्रयोगशालाकी एमडी प्याथोलोजिष्ट डाक्टर सृजना यादवले सम्झौता अनुसार दुई दिनभित्र प्राप्त भएका सेम्पलहरूको द्रुत परीक्षण गरेर सोझै अस्पतालहरूलाई प्रतिवेदन पठाइदिने गरिएको जानकारी दिइन् । जिल्ला अस्पतालमा विरामीले स्वास्थ्य परीक्षण गराउन पठाउँदा लाग्ने शुल्क प्रयोगशाला आफैले बेहोर्ने गरेको छ भने सेम्पल ढुवानी शुल्क सरकारले बोहोरिदिन्छ ।
निजी प्रयोगशाला र अस्पतालहरूले पनि पठाउँछन् सेम्पल
प्रयोगशालाका निमित्त निर्देशक प्रकाशचन्द्र कार्कीका अनुसार उचित प्रचारप्रसार हुन नपाए पनि सस्तो र छिटो अनि भरपर्दो स्वास्थ्य परीक्षण गर्न थालेको मौखिक जानकारी पाउन थालेपछि विरामीहरू स्वास्थ्य परीक्षण गराउन आउन थालेको बताउँछन् । उनका अनुसार सरकारी अस्पताल र विरामी व्यक्ति आफै आएर मात्र नभई निजी प्रयोगशाला र अस्पतालहरूले समेत सेम्पल पठाएर परीक्षण गराउन थालेका छन् । यो प्रयोगशालाबाट चालु वर्षको चैतसम्म १५ हजार जनाले विभिन्न रोगहरूबारे स्वास्थ्य परीक्षण गराइसकेका छन् । यो प्रयोगशालाले चालु वर्ष ३ हजार जनाको टिभी रोगको मात्र जाँच गरिसकेको छ । प्रयोगशालाले गत फागुनसम्म विभिन्न स्वास्थ्य परीक्षण गरेर चालु वर्ष १ करोड १५ लाख राजस्व संकलन गरी प्रदेश स्वास्थ्य मन्त्रालयमा दाखिला गराइसकेको छ ।
आफ्नै सेम्पल संकलन केन्द्र स्थापना गर्ने योजना
यो प्रयोगशालाले विरामीहरूलाई अझै सर्वसुलभ रूपले सेवा दिन ठूला शहर र दुर्गम जिल्लाका पालिकाहरूमा सेम्पल संकलन केन्द्र खोल्ने तयारी गरिरहेको छ । यसबारे नमूनाका रूपमा सेम्पल संकलन केन्द्रहरू सफल रूपमा सञ्चालन गरिसकेको र आवश्यक बजेट उपलब्ध हुनासाथ सेम्पल संकलन केन्द्रहरू सञ्चालनमा ल्याउने प्रयोगशालाको तयारी छ ।
संक्रामक रोगबारे निरन्तर अनुसन्धान
यो प्रयोगशालाले स्वास्थ्य परीक्षण गर्ने बाहेक प्रदेशभरिका संक्रामक रोग र महामारीबारे निरन्तर अनुसन्धान गर्ने गरेको छ । जसले गर्दा के कारणले संक्रमण बढेको र महामारी फैलिएको हो भन्ने पहिचान गरेर रोकथाम गर्न गराउन सरकारलाई सहज हुने गरेको छ । कोभिडको समयमा भाडाको घरमा पुराना उपकरणहरूबाट अनुसन्धान गर्न सुरु गरेको यो प्रयोगशालाले विराटनगर १४ स्थित पुरानो एयरपोर्टमा नयाँ भवन निर्माण गरेर आधुनिक उपकरण सहितको ल्याव स्थापना गरेपछि सर्वसाधारणहरूलाई पनि सोझै सेवा दिन थालेको हो । हाल कोशी जनस्वास्थ्य प्रयोगशालामा नसर्ने रोग, संक्रामक रोग र गुणस्तर नियन्त्रण तथा तालिम शाखाहरू मार्फत सेवा प्रदान हुँदै आइरहेको छ ।
निजी क्षेत्रका स्वास्थ्य प्राविधिकहरूलाई पनि तालिम
कोशी प्रदेशभरिका स्वास्थ्य परीक्षणशालाहरूको दर्ता, नवीकरण र अनुगमन गर्ने जिम्मा पाएको यो प्रयोगशालाले प्रदेशभरिका आफ्नै तालिम केन्द्रमा दक्ष डाक्टरहरूको सहभागितामा निजी र सरकारी क्षेत्रका प्राविधिकहरूलाई तालिम पनि दिने गरेको छ । अत्याधुनिक प्रयोगशालामा आफै सहभागी भएर विज्ञहरूको निगरानीमा तालिम लिएपछि प्रयोगशालामा काम गर्ने जनशक्तिहरू पनि दक्ष हुने गरेका छन् । जसले स्वास्थ्य जाँच सेवालाई विश्वासिलो बनाउन सहयोग गरेको छ ।