भुइँमा लत्रिएको तारले २४ दिनमा लियो पाँच जनाको ज्यान

विराटनगर । बिहीबार मध्याह्न धनकुटामा लत्रिएको विद्युत्को तारबाट करेन्ट लागेर एक किसानको मृत्यु भएको छ। धनकुटा नगरपालिका–८ शिववेशीका ६८ वर्षीय मंगलसिंह राईको आफ्नै खेतमा काम गरिरहेका बेला दिउँसै विद्युत्को लत्रिएको तार छुँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार, मृतक राई घाँस काट्दै गर्दा तारमा छोइएपछि उनलाई करेन्ट लागेको थियो। ‘भुइँको घाँस काट्दै हुनुहुँदो रहेछ। त्यही क्रममा लत्रिएको तारमा घाँसले छोएको हामीले अनुमान गरेका छौं,’उनले बताए ।

तार कहिलेदेखि लत्रिएको थियो भन्ने विषयमा भने विद्युत् प्राधिकरणलाई समेत जानकारी नभएको खनालले जानकारी दिए। घटनास्थल जिल्ला प्रहरी कार्यालय धनकुटाबाट करिब १५ किलोमिटर पूर्वमा पर्छ। घटना भएको स्थान एकान्त भएका कारण तार लत्रेको विषयमा कसैले खबर नगरेको प्राधिकारणले जवाफ दिएको उनले बताए।

कोशी प्रदेशमा पछिल्लो २४ दिनको अवधिमा जमिनमा लत्रिएको विद्युत्को तारका कारण पाँच जनाको मृत्यु भएको छ। यसअघि २४ दिन पहिले ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको थियो ।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप फुङलिङ नगरपालिका–१० को सेवारो चोक नजिकै बिजुलीको पोलबाट लत्रिएको तारमा छुँदा आगलागी भएको थियो। उक्त घटनामा फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई,ललितपुरकी १६ वर्षीया आध्या आचार्य,झापाकी ६९ वर्षीया सरिता पौडेल, झापाकै ७० वर्षीय विनोद पौडेलको मृत्यु भएको थियो ।

ललितपुरकी ४५ वर्षीया सविना आचार्य र उनका छोरा अभियम आचार्य घाइते भएका थिए। मृतक आध्या सविनाकी छोरी तथा सरिता र विनोद पौडेल सविनाका आमाबुबा हुन्।पाथीभरा दर्शनका लागि गएका उनीहरू ताप्लेजुङको सदरमुकाम फुङलिङमा बैशाक ७ गते पुगेका थिए । भोलिपल्ट पाथीभरा दर्शनका लागि निस्किएका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ताप्लेजुङको घटनाको छानबिन गर्न विद्युत विकास विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा एक समिति गठन गरेको थियो। समितिमा मन्त्रालयका दुई जना प्रतिनिधि र पुल्चोक इञ्जिनियरिङ क्याम्पसका एक जना प्रतिनिधि सदस्य छन् ।

समितिले स्थलगत अनुगमन गरे पनि प्रतिवेदन भने अहिलेसम्म सार्वजनिक गरेको छैन। समितिले केहिदिन अगाडि स्थलगत अध्यन गरेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङकी सहयाक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन्।
स्थानीयहरूले विद्युत् प्राधिकरणको लापरवाहीका कारण यी घटना भएको आरोप लगाएका छन्। तर, नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजा भाइ शिल्पकारले प्राधिकरणको कमजोरी नभएको दाबी गरेका छन्। ‘तार लत्रेको थाहा भएसम्म हामी तुरुन्तै मर्मत गर्छौं। हामीले पेट्रोलिङ गर्न पनि निर्देशन दिएका छौं। हामीलाई स्थानीयको पनि साथको खाँचो छ,’ उनले भने ।
उनले हावाहुरीको सिजनमा विशेष सतर्कता अपनाउन पनि आग्रह गरेका छन्। विद्युत दुर्घटनाबाट बच्न सर्वसाधारणलाई सचेत रहन र लत्रिएको तार देख्नासाथ तुरुन्त सम्बन्धित निकायमा खबर गर्न उनले अनुरोध गरेका छन् ।

यस्ता दुर्घटना रोक्न नियमित मर्मत सम्भार, सुरक्षा मापदण्डको कडाइका साथ पालना र जनचेतना अभिवृद्धि गर्न स्थानीय अगुवाले नेपाल विधुत् प्राधिकरणलाई आग्रह गरेका छन् ।

शनिबार, ०४ जेठ, २०८२, बिहानको ०८:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर