विराटनगर । “अदालतले न्याय दिए पनि घरकै परिवारले न्याय दिएनन्,’ चिकित्सा पेशामा आवद्ध विद्वत समाजकी डा. निता यादवले बिहीबार विराटनगरमा पत्रकारसामु आफ्नो पीडा सुनाइन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी सहायक प्राध्यापक तथा स्त्री रोग विशेषज्ञ उनी अधिकारका लागि कानुनी लडाइँ लडिन् र जितिन् तर व्यवहारमा उनले जित्न सकेकी छैनन् ।
आफ्ना ससुरा र देवरको अवरोधका कारण अदालतबाट प्राप्त अधिकार उपभोग गर्न नपाएको डा. यादवले बताइन् । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर उनले एकल महिला भएकै कारण आफूलाई अधिकार उपभोग गर्नबाट छेकिएको गुनासो गरिन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ माइती भएकी डा. निताको २०६८ सालमा डा. सुशिल यादवसँग विवाह भएको थियो । विवाहको केही समयमै उनले आफ्नो पति सिजोफ्रेनिया नामक गम्भीर मानसिक रोगबाट पीडित रहेको तथ्य थाहा पाइन् । त्यसपछि उनको दाम्पत्य जीवनमा समस्या सुरु भयो । ‘पतिको दीर्घकालीन मानसिक समस्या लुकाएर विवाह गरिएको रहेछ, विवाहपछि मात्र मलाई र माइती पक्षलाई यो थाहा भयो,’ डा. यादवले बताइन् ।
उनका अनुसार, श्रीमानका बुबा डा. सितल यादव विराटनगरका चर्चित चिकित्सक हुन् । डा. सितलले २०५८ सालमै आफ्नो छोरालाई बुढीगंगा गाउँपालिका वडा नं. १ र ३ मा करिब ४ बिघा जग्गा कानुनी रूपमा बाँडफाँट गरिदिएका थिए ।
निताका पति डा. सुशिलको २०८१ साल जेठ ३१ गते मृत्यु भएपछि डा. नीताले आफ्नो हकको माग गर्दै २०७९ भदौ २ गते सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालतले २०८० फागुन १७ गते डा. निता यादवको पक्षमा फैसला गर्दै पतिको नाममा रहेको सम्पत्तिमा आधा भागको हक दिने आदेश गरेको थियो । त्यसपछि उच्च अदालत विराटनगरले २०८१ साल चैत १६ गते जिल्ला अदालतको फैसलालाई सदर गर्दै यादवलाई कानुनी रूपमा उक्त जग्गाको अधिकार सुनिश्चित गरिदिएको छ ।
अदालतबाट अनुकूल फैसला आए पनि व्यवहारमा डा. यादवले आफ्नो हकको जग्गा भोगचलन गर्न पाएकी छैनन् । ‘फैसला लागू भए पनि बुढीगंगा गाउँपालिकाका कर्मचारीले ससुरा र देवरको दबाबमा परेर मलाई जग्गामा कुनै काम गर्न दिइरहेका छैनन् । न पानीको धारा जडान गर्न दिइएको छ, न बिजुली । खेतीपाती गर्न त परै जाओस्, मजदुरका लागि टहरा बनाउनेसम्म अनुमति छैन,’ पत्रकार सम्मेलनमा डा. नीताले गुनासो पोख्दै भनिन्, ‘जग्गा भोगचलनको लागि जिल्ला प्रशासन कार्यालय धाएँ । कार्यालयबाट पनि शान्ति सुरक्षा व्यवस्था कायम गरिदिएको छ । तर, ससुरा र देवरले जग्गासम्म जान दिएका छैनन् । अदालतको आदेश कार्यान्वयन हुन दिइएको छैन । ममाथि अन्याय भएको छ । न्यायको लागि पत्रकार सम्मेलन गर्न बाध्य भएको हुँ । ’
डा. यादवले हालसम्म उक्त जग्गामा एक इन्च पनि भोगचलन गर्न नपाएको बताउँदै यसले आफूलाई मानसिक तनावमा पारेको बताइन् । एक शिक्षित चिकित्सक हुँदाहुँदै पनि उनी न्यायिक प्रक्रियापछि पनि न्याय पाउनबाट वञ्चित भएकी हुन् ।
‘न्यायालयले दिएको हकसमेत प्रयोग गर्न नपाउनु महिलाविरुद्धको गहिरो अन्याय हो,’ उनले भनिन् ।
न्यायका लागि अपिल
डा. यादवले स्थानीय प्रशासन, नागरिक समाज, महिला अधिकारकर्मी तथा सञ्चारमाध्यमहरूसँग आफूले न्याय पाउने वातावरण सिर्जना गरिदिन आग्रह गरेकी छन् । उनका अनुसार, ससुरा डा. सितल यादव र देवर सुनिल यादव मिलेर उनको कानुनी अधिकारलाई निष्प्रभावी पार्न लगातार षड्यन्त्र गरिरहेका छन् ।
यो मामिला न्यायपालिकाले दिएको निर्णय कार्यान्वयनमा देखिएको चुनौती भएको उनले बताइन् । ‘यसरी शिक्षित महिलाहरूले समेत कानुनी अधिकार प्राप्त गरिसकेपछि पनि त्यसको उपभोग गर्न नसक्दा महिला अधिकारको क्षेत्रमा थप चुनौतीहरू रहेको देखिन्छ,’ उनले भनिन्, ‘स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले यस्ता मामिलामा तत्काल हस्तक्षेप गरी न्यायिक निर्णयको कार्यान्वयन सुनिश्चित गर्नुपर्ने आवश्यक देखिएको छ । यसमा सबैलाई साथ सहयोगको लागि आग्रह गर्दछु ।’
यता डा. सितल प्रसाद यादवले सर्वोच्च अदालतमा हामीले पनि मुद्दा दिएको कारणले अंश दिनमा ढिलाइ भएको बताए । ‘हामीले अदालतको आदेश मान्दैनौं भनेका छैनौं । हामीले पनि जिल्ला र उच्चले गरेको फैसला चित्त नबुझेपछि सर्वोच्च गएका हौं । सर्वोच्चले जे फैसला गर्छ त्यो मानेर अगाडि बढ्छौं,’ उनले भने ।
