मोरङ कारागारको क्षमता दोब्बरले बढ्यो


विराटनगर । मोरङ जिल्ला कारागारको नवनिर्मित भवनको आज गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नुभएको छ । नयाँ भवन उद्घाटनसँगै मोरङ कारागारमा कैदी बन्दी अटाउने क्षमता दोब्बर भएको छ ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय विराटनगरले ३५ करोड ४४ लाख ५१ हजार ८७४ रुपियाँ लागतमा करिब ४ वर्ष समय लगाएर निर्माण गरेको भवन गृहमन्त्री लेखकले उद्घाटन गरेका हुन् ।

दुई वर्षभित्र सम्पन्न गर्नगरी आशिष र आशीर्वाद स्वामिनारायण जेभि त्रियुगा, उदयपुरले २०७८ साल असार २४ गते ठेक्का सम्झौता गरी दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो । तर समयमा काम सम्पन्न गर्न नसक्दा ६ पटक म्याद थपेर निर्माण सम्पन्न गरेको हो ।

महिला र पुरुषका लागि छुट्टाछुट्टै गरिएको भवनमा ३१७ जना कैदीबन्दी बस्नसक्ने क्षमता रहेको जानकारी उद्घाटनका क्रममा दिइएको छ । जसमा पुरुष कैदीबन्दी गृह २१८ जना अट्ने क्षमताको छ भने महिला कैदीबन्दी बस्ने भवन ९९ जना बस्न सक्ने क्षमताको रहेको छ ।

योसँगै मोरङ जिल्ला कारागारको क्षमता विस्तार भएको छ । यसअघि २५० पुरुष र ५० महिला बस्न सक्ने क्षमताको भवनमात्र रहेकोमा अब ४६८ जना पुरुष र १४९ जना महिला गरी ६१७ जना कैदीबन्दी अटाउन सक्ने संरचना निर्माण भएको हो । नयाँ भवन सञ्चालनमा आउनुअघि भवनमा १ हजार ४१ जना कैदीबन्दी र ३ जनाआश्रित बालबालिका छन् । जसमा ९३२ पुरुष र १०९ जना महिला कैदीबन्दीहरु हुनुहुन्छ । नयाँ भवन निर्माण भएपनि कारागारको क्षमता भन्दा बढी कैदीबन्दी व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको कारागार प्रशासनले जनाएको छ । यद्यपि बसाइको अवस्थामा भने निकै सहज हुने कार्यालयले जानकारी दिएको छ ।
नवनिर्मित भवनको पुरुष भवनतर्फ २२ वटा शौचालय निर्माण गरिएका छन् भने महिला भवनतर्फ १६ वटा शौचालयहरु छन् ।
कारागार परिसरमा नयाँ भवनसँगै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासनिक भवन, कम्पाउण्ड वाल, सुरक्षा पोष्ट, सीमा पर्खाल, सुरक्षा जाँच कक्ष, आदि संरचनाहरु निर्माण गरिएको कारागार प्रशासनका प्रमुख गौरव ढुंगेलले जानकारी दिए ।
भवन उद्घाटनका क्रममा कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले देशभरको ७५ वटा कारागारमा १८ हजार ५७२ जना कैदीबन्दी बस्ने क्षमताको भवन रहेको तर अहिले २९ हजार १२ जना कैदीबन्दीलाई राखिएको जानकारी दिए ।

उद्घाटन समारोहमा गृहमन्त्री रमेश लेखकले सम्पूर्ण कैदीबन्दीको मानवअधिकार रक्षा गर्न र स्वास्थ्यलगायतको सुविधाप्रति नेपाल सरकार संवेदनशील रहेको बताए । उनले कारागारलाई सुधारगृहको रूपमा विकास गर्न उत्पादनमूलक उद्यम विकास गरिने र कैदीबन्दीलाई उद्यमशील विकास कार्यक्रममा सहभागी गराइने बताए । कैदीबन्दीहरुको शारीरिक र मानसिक अवस्थामा सुधार ल्याउन योग अभ्यास, खेलकुद, पठनपाठन र अन्य मनोरन्जनात्मक क्रियाकलापका लागि आवश्यक व्यवस्थापन मिलाउने मन्त्री लेखकले बताए ।

मङ्गलबार, ३० बैशाख, २०८२, साँझको ०७:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर