विराटनगर । गृहमन्त्री रमेश लेखकले निराशाले आत्महत्या गराउने भन्दै निराश नहुने काँग्रेस कार्यकर्तालाई आग्रह गरेका छन् । विराटनगरस्थित नेपाली काँग्रेस मोरङको पार्टी कार्यालयमा पार्टी कार्यकर्ता तथा नेताहरुले कुरा गर्ने क्रममा निराशा व्यक्त गरेपछि उनले यस्तो बताएका हुन् । देशमा अहिले कमी कमजोरी, चिन्ता, समस्या रहेको भएपनि निराश हुन नहुने उनले बताए ।
‘केही कमि छन्, कमजोरी छन्, चिन्ता छन्, समस्या छन्, जटिलता छन् र कठिनता पनि छन् । तर निराश हुनुहुँदैन,’ गृहमन्त्री लेखकले भने, ‘तर निराश हुनुहुँदैन । काँग्रेस निराश भयो भने देश अगाडि बढ्न सक्दैन । निराशाले मानिसलाई आत्महत्यातिर लैजान्छ ।’
उनले आशा गरे मानिसलाई प्रगतितर्फ, विकास र समृद्धितिर लैजाने बताए । सरकारले चालेको पाइला साना भए्, गति कम भएपनि पाइला गलत बाटोमा नरहेको उनले बताए । ‘हाम्रो पाइला साना होलान्, गति कम होला । तर, गतिहिन छैन, लक्ष्य हिन छैन, उद्देश्यबिहीन छैन । त्यसकारण काँग्रेसले निराशा बाँड्ने होइन । आशा जगाउने हो,’ उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने ।
उनले परिवारको अभिभावक र परिवारको मुली काँग्रेस नै भएकोले झन् निराश हुन नहुने बताए । ‘काँग्रेस राष्ट्रको अभिभावक पार्टी हो । काँग्रेस नेपाली जनताको आशा, भरोसा र आस्थाको पार्टी हो । त्यसकारण पनि निराश हुनुहुँदैन,’ उनले भने ।
उनले अहिलेको संयुक्त सरकारबारे विभिन्न टिप्पणी भएपनि संविधानको व्यवस्था अनुसार गठबन्धन गरेर मात्रै सरकार बन्ने स्थितिबारे बुझन आग्रह गरे । अहिलेको संविधानकै कारण महिलाले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिककाको नेतृत्व गरेको भन्दै यो महिलाको सशक्तीकरण भएको उनले दाबी गरे । यद्यपि संविधानमा केही कमजोर पक्ष रहेको उनले बताए । ‘एउटै पार्टीको बहुमत आउन सक्ने खालको अवस्था छैन । संयुक्त सरकारको विकल्प बाहेक अरु हामीसँग छैन । एमालेसँग मिलेर भएपनि माओवादी वा अरुसँग मिलेर भएपनि सरकार बनाउनु पर्ने बाध्यता छ,’ उनले भने ।
उनले अहिलेको गठबन्धन सरकारको मुख्य उद्देश्य राजनीतिक स्थिरता भएको र त्यो १० महिनामा सन्देश दिएको उनको दाबी छ । ‘राजनीतिक मुद्दामा हामीले स्थिर सरकार दिन्छौं भनेका छौं । भोली यो संयुक्त सरकार बनेको १० महिना पुरा हुन्छ । यो १० महिनामा प्रधानमन्त्री न विश्वासको मत लिन जानु भएको छ । न अविश्वासको प्रस्ताव पेश भएको छ ? अघिल्लो सरकारको अवस्था के थियो ?,’ उनले स्पष्ट पार्दै भने, ‘१० महिनामा हामीले सरकारको स्थिरताको सन्देश दिएका छौं ।’