विराटनगर । विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो तीन जना बालबिज्याइँकर्ता फरार भएका छन् । जवरजस्ती करणी जस्ता गम्भीर मुद्दामा सजाय भोगिरहेका बालकहरूको दिनदहाडै भएको यो फरार प्रकरणले सुधार गृहको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
फरार हुनेहरू उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका बालकहरू हुन् । बाल सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो, जसको तीन वर्ष उनी सुधार गृहमै बिताइसकेका थिए । बाँकी दुई बालक झापा र ताप्लेजुङका रहेका छन्, जो पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा राखिएका थिए ।
फरारको शैली र सुरक्षा चूक
बालकहरू दिउँसो साढे दुई बजेको समयमा फरार भएका हुन् । घटनाको जानकारी पाउने बित्तिकै मोरङ प्रहरीले खोजी कार्य प्रारम्भ गरिसकेको बताउँदै प्रहरी प्रवक्ता डिएसपी वेद प्रकाश जोशी भन्छन्, ‘फरार बालकहरू खोज्न प्रहरी परिचालन भइसकेको छ र घटनाबारे विभिन्न कोणबाट अनुसन्धान थालिएको छ । गृहको सुरक्षामा खटिएका प्रहरीहरूबाट समेत आवश्यक सोधपुछ भइरहेको छ ।’
२४ घण्टा प्रहरीको निगरानी रहने भनिएको सुधार गृहमा यस्तो घटना हुनुले सुरक्षा संयन्त्रमै कमजोरी भएको संकेत गर्छ । प्रहरी टोली असई शम्भू चौधरीको नेतृत्वमा १३ जनाको दरबन्दीमा खटिएको भए पनि फरार हुनु गम्भीर लापरवाहीको संकेत हो ।
विराटनगरस्थित कोशी बाल सुधार गृहको भौतिक अवस्था अत्यन्तै जर्जर छ । ५० जनाको क्षमताको यो सुधार गृहमा सोमबारसम्म २४१ जना बालक राखिएका थिए । फरार भएपछि संख्या २३८ मा झरेको छ । चौहानका अनुसार गृहमा केवल नौवटा कोठा र एउटा हल मात्र छ, जसमा एक कोठामा २५ जनासम्मलाई राख्नुपरेको छ । यस्तो भीडभाडले न त बालकहरूको स्वास्थ्य सुनिश्चित हुन्छ, न त मनोवैज्ञानिक तथा सामाजिक पुनस्र्थापनाका कार्यक्रम नै प्रभावकारी रूपमा लागू गर्न सकिन्छ ।
‘छाला सम्बन्धी र सरुवा रोगको चाँडो फैलने खतरा अत्यधिक छ । पठनपाठन र व्यवहार सुधार कार्यक्रम पनि प्रभावकारी ढंगले गर्न सकिएको छैन । बढी उमेरका बालकहरूको संख्या बढ्दै जाँदा सुरक्षात्मक चुनौती झनै बढेको छ,’ उनले भने ।
यो पहिलोपटक होइन जब बालकहरू सुधार गृहबाट भागेका हुन् । यसअघि मोरङ र झापा घर भएका दुई बालक—तामाङ र पराजुली थर भएका—टीभी हेर्ने बहानामा तेस्रो तलाको झ्यालको ग्रिल निकालेर भागेका थिए । उनीहरूलाई प्रहरीले पाँच दिनपछि झापाबाट पक्राउ गरेको थियो । यस्ता घटना बारम्बार दोहोरिनु कमजोर सुरक्षाको प्रमाण हो ।
बाल सुधार गृहको उद्देश्य सजाय मात्र होइन, सुधार पनि हो । १८ वर्ष मुनिका बालबिज्याइँकर्तालाई सामाजिक पुनस्र्थापनाको लक्ष्यका साथ सुधार गृहमा राखिन्छ । अदालतले विभिन्न अपराधमा दोषी ठहर गरेका वा पुर्पक्षमा रहेका बालकहरूलाई यहाँ राख्ने गर्छ । उनीहरूलाई मनोवैज्ञानिक काउन्सेलिङ, पठनपाठन, सीप तालिम लगायत कार्यक्रममार्फत व्यवहार सुधार गराएर समाजमा पुनःस्थापित गराउने लक्ष्य लिइन्छ ।
तर, जब भौतिक संरचना कमजोर हुन्छ, स्रोत साधन अभाव हुन्छ, क्षमताभन्दा चारगुना बढी भीड हुन्छ, त्यहाँ सुधार भन्दा पनि अन्य समस्याहरूको बर्चस्व रहने गर्छ । यही कारण, फरार हुने, झगडा गर्ने, मानसिक तनावमा पर्ने जस्ता समस्याहरू बढ्दै गएको सुधार गृहका कर्मचारी बताउँछन् ।