विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड कोशीले एकतर्फी रुपमा नेपाल कराते महासंघ कोशी प्रदेश समिति गठन गरेको विषय विवादमा परेको छ ।
आन्तरिक विवादलाई देखाएर बोर्डले वैधानिक कार्यसमितिलाई अवैध ठहर्याएर एकतर्फी समिति बनाएको कराते महासंघ कोशी प्रदेश कार्यसमितिले जनाएको छ । समितिले जारी गरेको विज्ञाप्तीमा बोर्डले अनधिकृतरुपमा हस्तक्षेप गरेको र लोकतानित्रक प्रक्रियाबाट निर्वाचित समितिलाई जबरजस्ती विवादमा तान्ने काम गरेको उल्लेख छ ।
समितिका सचिव राम लिम्बूले बोर्डको उक्त कदमप्रति आक्रोश व्यक्त गरेका छन् । ‘हामी दुई वर्षदेखि कराते खेलको विकासका लागि निरन्तर काम गरिरहेको छौँ, जसलाई राष्ट्रिय महासंघले समेत मान्यता दिइसकेको छ’, उनले भने, ‘यस घटनाले खेलकुदको विकासमा काम गर्नुपर्ने बोर्डले एउटा गुट बनाएर चलाउने कुचेष्टा गरिरहेको छ ।’
कराते महासंघ कोशी प्रदेशको वर्तमान कार्यसमितिले राष्ट्रिय खेलकुद ऐन २०७७ अनुसार विधिवत् रूपमा कार्य गरिरहेको र नेपाल कराते महासंघबाट समेत मिति २०८२ वैशाख २८ गतेको पत्रमार्फत कुबिरमान राई अध्यक्ष र राम लिम्बू सचिव रहेको कार्यसमितिलाई आधिकारिक मान्यता प्रदान गरिसकेको जानकारी दिए ।
महासंघका पदाधिकारीहरूले बोर्डमा पटक–पटक दर्ता प्रक्रियाका लागि पहल गर्दा समेत नियतवस दर्ता नगरिएको आरोप उनले लगाएका छन् ।हाल कुबिरमान राई अध्यक्ष रहेको कार्यसमितिमा उपाध्यक्षद्वय सौरभ प्रधान, अनिल नेपाल, सचिव राम लिम्बु, कोषाध्यक्ष अनुशा विष्ट रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुनिता तामाङ्ग, लोकेन्द राई, योगेन्द्र आचार्य, रेनुका राई, कमिक राई, मिलन कसजु, बिप्लव राई र मेनुका ठाकुर रहेका छन् ।
वर्तमान कार्यसमिति हुँदाहुँदै वैशाख २४ गते प्रभाकर रानाको संयोजकत्वमा ११ सदस्यीय नेपाल कराते महासंघ कोशी प्रदेशको अर्को समिति बनाइएको हो ।विज्ञप्तिमा अवैधरुपमा गठन गरिएको तदर्थ समिति तत्काल खारेज गर्न महासंघ कोशी प्रदेशले माग गरेको छ । उसले माग सम्बोधन नभएमा कानुनी उपचारमा जाने बताएको छ ।