विराटनगर । विराटनगरबाट रमपम, टुपिएम, प्रीतिलगायतका ब्रान्डमा चाउचाउको उत्पादन गरिरहेको एसियन थाई फुड्सले कपिलवस्तुको तौलिहवामा दोस्रो युनिट सञ्चालनमा ल्याएको छ ।
एसियनथाई फुड्सले पहिलो चरणमा चाउचाउ र दोस्रो चरणमा स्न्याक्सको पनि उत्पादन गर्ने लक्ष्यका साथ अर्को युनिट गर्न थालेको हो ।
उद्योगका निर्देशक महेश जाजूले कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरीमा रहेको उद्योगले बुधबारदेखि व्यावसायिक उत्पादन सुरु गरेको जानकारी दिए । उद्योगी जाजूले उद्योगले दैनिक २० टन चाउचाउ उत्पादन गर्ने बताए ।
‘पूर्वको मोरङबाट पश्चिम ढुवानी गर्दा परिवहन खर्च महँगो परिरहेको थियो । अब पश्चिमको बजारलाई कपिलवस्तुको उद्योगले आपूर्ति गर्नेछ’, जाजूले भने । साथै भारतको उत्तर प्रदेश र उत्तराखण्डको मागलाई पनि कपिलवस्तुको उद्योगले पूरा गर्ने उनको भनाइ छ । उनले भारतका दुबै राज्यमा यहाँबाट चाउचाउ निर्यात गर्दा ढुवानी खर्च विराटनगर भन्दा कम पर्ने बताए ।
एसियन थाई फुड्सले १० महिना अघि एभरेस्ट बैंकको लिलामीबाट गोबरीस्थित क्यापिटल फुड्स प्रा.लि.नामको बन्द भएको चाउचाउ उद्योग खरिद गरेको थियो । उद्योगले २ बिघा ८ कट्ठा जमिन चर्चेको छ । एसियन थाई फुड्सले क्यापिटलको मेसिनलगायतका सम्पूर्ण सम्पत्ति लिलामबाट लिएको थियो ।
क्यापिटल फुड्स सन्दीप पसोधन र सचिन पसोधन दुई दाजुभाइले चलाउने गर्थे । तर उद्योग लामो समयदेखि बन्द हुँदा र बजारबाट भुक्तानी नआउँदा उद्योगले बैंकको ऋण तिर्न सकेको थिएन । यसपछि एसियन थाई फुड्सले २२ करोडमा जमिन, घर, मेसिन सहितका सम्पूर्ण सामान खरिद गरेको थियो ।
एसियन थाई फुड्सले आफ्ना उत्पादन भारत, युएई, ओमन, कतार, सउदी अरब, मलेसिया, अमेरिका, अस्ट्रेलिया, इटलीलगायतका मुलुकमा निर्यात गरिरहेको छ ।