विराटनगर । कोशी प्रदेश सरकारले कोशी प्रदेश सभाको बजेट अधिवेशन जेठ ४ गतेबाट बस्नेगरि आह्वान गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन जेठ ४ गते दिउँसो २ बजेबाट आह्वान गर्ने निर्णय गरेको हो ।
प्रदेश मन्त्रीपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ । मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेशसभा बैठक आह्वानको लागि सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीका बारेमा प्रदेश लोकसेवा आयोगसँग परामर्श माग गर्ने निर्णय गरेको छ । सुनसरीको कोशी गाउँपालिका केन्द्र हेरफेर गर्न बारेमा नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।
बैठकले कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका २०८२ स्वीकृत गरेको मन्त्री भण्डारीले जानकारी दिए । वैशाख १८ र १९ गते भएको प्रदेश लगानी सम्मेलन सफल बनाउने कार्यमा योगदान दिने सबैलाई हार्दिक धन्यवाद दिने निर्णय पनि सरकारले गरेको छ ।