विराटनगर । सत्तारुढ दल नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले नेकपा एमालेले कोशी प्रदेश सरकार एकलौटी चलाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा आज स्टाटस लेख्दै प्रमुख सचेतक तामाङले सरकार एकलौटी ढङ्गले चलेको आरोपसमेत लगाउँदै आपत्ती जनाएका हुन् ।
‘कोशी प्रदेश सरकारको एकलौटी रबैयाप्रति घोर विमती छ’ उनले लेखेका छन्, ‘यस्तो सरकारमा रहनुभन्दा प्रतिपक्षी हुनुमा गर्व गर्छु ।’ सांसद् तामाङले काँग्रेस संसदीय दलका नेता उद्धव थापा, काँग्रेस झापा सभापति देउमान थेबेसपहितका नेताहरुलाई ट्याग गरेर सरकारप्रति अक्रोश व्यक्त गरेका हुन् ।
कोशी प्रदेशमा नेपाली कांग्रेस र एमालेका बिचमा सत्ता गठबन्धन छ । प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट तीन जना मन्त्री सरकारमा छन् । सरकारको कामप्रति यसअघि काँग्रेस संसदीय दलमा पनि प्रश्न उठेको थियो । पार्टीभित्र नेता कृष्णप्रसाद सिटौला र प्रदेश दलका नेता उद्धव थापाका विश्वासपात्र तामाङले अहिले सार्वजनिक रुपमा सरकारप्रति असन्तुष्टि जनाएका हुन् ।
प्रमुख सचेतक तामाङले सरकारले कुनै सल्लाह नगरी काम गरेकोले त्यसपछि टिप्पणी गरेको बताए । ‘यो मेरो व्यक्तिगत विचार हो । मलाई सरकारले गरेको कामका बारेमा लेखेको हो’ उनले भने, ‘यो दलको धारणा भने होइन ।’ लगानी सम्मेलन, पर्यटन वर्ष तथा सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटबारे मुख्यमन्त्रीले कुनै सल्लाह र छलफल नगरेपछि तामाङले आपत्ती जनाएको उनी निकट स्रोतले जनाएको छ ।
कांग्रेसले भौतिक पूर्वाधार, कृषी तथा सहकारी, पर्यटन बन तथा बाताबरण र स्वास्थ्य मन्त्रालय सम्हालेको छ । एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारको काँग्रेसबाट भौतिक र स्वास्थ्यमा भुपेन्द्र राई, कृषिमा खगेनसिं हाङ्गाम र पर्यटनमा सदानन्द मण्डल काँग्रेसबाट मन्त्री छन् ।
काँग्रेस झापा सभापति देउमान थेबेले केही दिन अघि झापामा सहकारी संघको चुनावमा नेकपा एमालेले धोका दिएको भन्दै विज्ञप्ति निकालेर सहकार्य तोड्ने चेतावनी दिएका थिए ।