विराटनगर । विभिन्न १७ वटा विषयका १३८ बुँदे मागपत्र बुझाउन कोशी प्रदेशको मुख्यमन्त्री कार्यालय पुगेका एकीकृत समाजवादीका नेताहरुलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीलले पार्टी एकता गर्ने प्रस्ताव गरेका छन् ।
नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले औपचारिक कार्यक्रम समापनपछि अनौपचारिक छलफलका क्रममा दुई गौरवशाली पार्टी मिलाएर एउटै गौरवशाली पार्टी बनाउने प्रस्ताव गरेका हुन् । एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका पूर्व मुख्यमन्त्री राजेन्द्र राई, पोलिटब्यूरो सदस्यहरु महेश रेग्मी, राजन राई, प्रदेश अध्यक्ष सरिता खड्का लगायतका तीन दर्जन नेताहरु मुख्यमन्त्री कार्यालय पुगेका थिए ।
ज्ञापनपत्रमा भने उनीहरुले ‘हाल प्रश्न उठिरहेको गिरीबन्धु टि स्टेटको जग्गा विषयमा भएको अनियमितताको उच्च स्तरीय छानबिन गर्न माग’ गरे । यस्तै प्रदेश सरकारको विकास निर्माणमा हुने ढिलासुस्ति, गुणस्तरको ग्यारेण्टीको अनुगमन निरीक्षण गर्न शक्तिशाली संयन्त्र निर्माण गर्न र फजूल खर्चको कटौती मार्फत् सरकार सञ्चालनलाई मितव्ययी बनाउन पनि उनीहरुले माग गरे ।
कृषि, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य, खानेपानी तथा सरसफाई,
उर्जा तथा विद्युतीकरण, शिक्षा र रोजगारी लगायत १७ वटा विषयमा १३८ बुँदा माग राखिएको छ । सो माग राख्ने सन्दर्भमा एकीकृत समाजवादीकी प्रदेश अध्यक्ष सरिता थापा खड्काले ‘गौरवशाली पार्टी नेकपा एकीकृत समाजवादी पार्टी’ भनेकी थिइन् । सोही कुरालाई लिएर मुख्यमन्त्री कार्कीले भने, ‘यो अनौपचारिक कुरा हो कि दुई वटाले गौरवशाली पार्टी किन भन्ने ? दुईवटै गौरवशाली मिलाएर एउटै गौरवशाली बनाऔं’ भनेका थिए । समाजवादीका नेताहरुले भने त्यसको कुनै जवाफ दिएनन् ।
मुख्यमन्त्री कार्कीले समाजवादी पार्टीले राखेका अधिकांश माग र मुद्दाहरु जायज रहेको पनि बताए । ‘तपाइँहरुले राखेका मागहरु जायज छन्,’ उनले भने, ‘प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका लागि पनि यो माग पत्रले सहयोग गर्नेछ ।’
पूर्वमुख्यमन्त्री राजेन्द्र राईले भने आफूहरुको माग पुरा नभए आन्दोलन गर्ने चेतावनी समेत दिए । ‘हामीले शान्तिपूर्ण ढंगले माग पत्र बुझाएका छौं । यसलाई त्यही ढंगले सहजताका साथ पुरा गर्न आग्रह गर्दछौं,’ राईले भने, ‘हाम्रा माग पुरा नभए हामी सडक आन्दोलन गर्न बाध्य हुनसक्छौं ।’
माग पत्र बुझाउँदै अध्यक्ष खड्काले भने प्रदेश नामाकरणको विषयमा उठेको पहिचानको आवाजलाई सम्बन्धित पक्षसँग वार्ता र छलफल गरी निकास निकाल्नुपर्ने, मुकुम्लुङ (पाथीभरा) केवलकार निर्माणको विषयमा उत्पन्न विवाद प्रदेश सरकारले स्थानीय सरोकारवाला पक्षसँग छलफल र वार्ता गरी समाधान निकाल्न आवश्यक पहल गर्न माग गरिन् ।